न्युयोर्कका उबर र लिफ्ट चालकहरुले ३२८ मिलियन डलरको सम्झौताको हिस्सा कसरी दावी गर्ने?


प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार

न्युयोर्कका एकलाख भन्दा धेरै उबर र लिफ्ट चालकहरुले अब छिट्टै ३२८ मिलियन डलरको सम्झौताको हिस्सा प्राप्त गर्नेछन् । ड्राइभरहरूबाट रकम होल्ड गरेकोमा उबर र लिफ्टले ३२८ मिलियन डलर तिर्न सहमत भएपछि यसलाई चालकहरुको जीतका रुपमा हेरिएको छ । यो सम्झौता अन्तरगत उबरले २९० मिलियन डलर र लिफ्टले ३८ मिलियन डलर तिर्न सहमत भएका हुन् ।

योग्य ड्राइभरहरूले आफ्नो हिस्साको रकम प्राप्त गर्न दाबी फाइल गर्न सक्नेछन् भने चालकहरूलाई पत्र, इमेल वा टेक्स्ट मेसेजहरुमार्फत सूचनाहरू पठाइनेछ। रकम दावी गर्नका लागि उबर र लिफ्टका फरक फरक वेवसाइटहरु बनाइएको छ । सन् २०१५ को अक्टोबर ११ र सन् २०१७ को जुलाई ३१ को बीचमा कुनैपनि दिन लिफ्ट चलाएकाहरु यो रकमका लागि योग्य हुनेछन् भने सन् २०१४ को नोभेम्बर १० देखि सन् २०१७ को मे २२ सम्म उबर चलाएकाहरु रकमका लागि योग्य हुनेछन् ।

यो अवधिमा कम्तीमा एउटामात्र ट्रिप गरेको भएतापनि रकम प्राप्त गर्न योग्य भइनेछ । उबर र लिफ्टले चालकहरुबाट न्युयोर्कको बिक्रि कर र ब्ल्याक कार फण्डमार्फत लिएको रकम फिर्ता गर्न सहमत भएका हुन् । चालकहरु सन् २०२४ को फेब्रुअरी २९ अगाडि नै उक्त रकम दावी गर्न सक्षम हुनेछन् । साथै सन् २०२४ को मार्च १ भित्र दावी गरिसक्नुपर्नेछ । रकम सन् २०२५ को नोभेम्बरबाट प्राप्त गर्न सकिनेछ । यसबारे उबर र लिफ्टले योग्य चालकहरुलाई थप प्रकृयाबारे जानकारी दिनेछ ।

उबरको सम्झौताबारे थप जानकारी प्राप्त गर्न र रकम दावी गर्न यहाँ क्लीक गर्नुहोला ।

लिफ्टको सम्झौताबारे थप जानकारी प्राप्त गर्न र रकम दावी गर्न यहाँ क्लीक गर्नुहोला ।

नयाँ सम्झौता अनुरुप अब चालकहरुले भुक्तानसहितको बिरामी विदा पाउनेछन् भने अन्य सुविधाहरु पनि पाउनेछन् । चालकहरुले प्रत्येक ३० घण्टा काम गरेबापत एक घण्टा भुक्तानीसहितको बिरामी बिदा पाउनेछन् । प्रति वर्ष अधिकतम ५६ घण्टा सम्म उनीहरुले भुक्तानसहितको बिरामी विदा पाउनेछन् । न्युयोर्क सिटीभित्रका चालकहरुले बिरामी विदाको भुक्तानी प्रतिघण्टा १७ डलरको दरले पाउनेछन् भने न्युयोर्क सिटी बाहिरका न्युयोर्क राज्यका चालकहरुले प्रतिघण्टा २६ डलर पाउनेछन् । यो रकम आगामी मार्च २ बाट र जुन २ बाट अझ बढेनेछ । चालकहरुले प्रतिघण्टा चालकहरुले सवै सुविधाहरुमा उबर र लिफ्टका एप्लीकेशनहरुबाट नै पहुच प्राप्त गर्नेछन् ।

green coupe scale model

त्यस्तै चालकहरुले पूरा गर्ने आवश्यक तालिमका लागि पनि उनीहरुले प्रतिघण्टाका दरले रकम भुक्तानी पाउनेछन् । सन् २०२४ को नोभेम्बर १ देखि लिफ्टले चालकहरुलाई अँग्रेजी, स्पानिस, क्यानेडियन र फ्रेन्च भाषामा च्याट सपोर्ट उपलब्ध गराउनेछ भने उबरले अँग्रेजी, स्पानिस, फ्रेन्च, रसियन, बंगाली र चाइनिज भाषामा च्याट सपोर्ट उपलब्ध गराउनेछ । यदि उबर र लिफ्टले कुनै कारणले चालकलाई सेवाबाट हटाएमा चालकले त्यस्तो निर्णयको पुनरावेदन समेत गर्न पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com