राष्ट्रपति भएमा हमास समर्थक आप्रवासीहरूलाई निष्कासन गर्ने ट्रम्पको वाचा


प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार

यदि आफू फेरि राष्ट्रपति निर्वाचित भएमा हमासलाई समर्थन गर्ने आप्रवासीहरूलाई अमेरिकाबाट देशनिकाला गर्ने र अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पले वाचा गरेका छन् । प्यालेस्टिनी लडाकु समूह हमासलाई सार्वजनिक रूपमा समर्थन गर्ने आप्रवासीहरूलाई गिरफ्तार गर्न र देशनिकाला गर्न हमास समर्थक प्रदर्शनहरूमा अधिकारीहरू पठाउने ट्रम्पको भनाई छ ।

आयोवामा चुनावी अभियानको एक कार्यक्रममा ट्रम्पले हमासबाट इजरायलमा भएको आक्रमणबारे प्रतिकृया दिएका थिए । अमेरिकाका पूर्व राष्ट्रपति समेत रहेका ट्रम्पले दोस्रो पटक निर्वाचित भएमा इजरायलको अस्तित्वको अधिकारमा विश्वास नगर्ने जो कोहीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने बताएका छन् । यहुदी विरोधी विदेशी विद्यार्थीहरूको भिसा खारेज गर्ने समेत उनले बताएका छन् ।

(एपी फोटो / चार्ली नेइबर्गल)

उनले आतंकबाट पीडित देशहरूबाट यात्रा प्रतिबन्ध बढाउने वाचा पनि गरेका छन् । ट्रम्पको धेरै अध्यागमन नीतिहरूलाई उनी राष्ट्रपति भएको समयमा अदालतमा चुनौती दिइएको थियो र उनको नयाँ वाचाहरूले पनि चुनौतीहरूको सामना गर्न सक्छ।

उनले केही मुस्लिम बहुल राष्ट्रहरूका आप्रवासीहरूमाथि लगाएको प्रतिबन्ध तल्लो अदालतमा खारेज गरियो तर अन्ततः अमेरिकी सर्वोच्च अदालतले त्यसलाई समर्थन गरेको थियो । बाइडेनले पदभार ग्रहण गरेपछि त्यो प्रतिबन्ध हटाएका थिए ।

ट्रम्पले लिबिया, सोमालिया, सिरिया र यमनका आप्रवासीहरूलाई वा अमेरिकी सुरक्षालाई खतरामा पार्ने अन्य कुनै पनि ठाउँका आप्रवासीलाई प्रतिबन्ध लगाउने बताए । ट्रम्पले एउटा कविता पनि पढेका थिए जसमा उनले आप्रवासीहरूलाई घातक सर्पसँग तुलना गरेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com