क्यालिफोर्नियाका गभर्नरबाट जातीय भेदभावलाई प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गर्न अस्वीकार


प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले जातीय आधारमा भेदभावलाई प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनले उक्त बिलमा गरिएको व्यवस्था अनावश्यक भएको भन्दै भिटो प्रयोग गरेका हुन् । यदि यो बिलमा गभर्नरले हस्ताक्षर गरेको भएमा क्यालिफोर्निया जातीय आधारमा भेदभावलाई स्पष्ट रूपमा प्रतिबन्धित गर्ने देशको पहिलो राज्य बन्ने थियो । तर उनले पहिले नै अवस्थित कानूनहरूमा यो विषय समेटिएको र नयाँ बिल अनावश्यक भएको भन्दै अस्वीकार गरेका छन् ।

सिनेट बिल ४०३ को रूपमा चिनिने यो बिलले हालै क्यालिफोर्नियामा बढ्दो दक्षिण एसियाली समुदायमा बहस र विवाद श्रृजना गरेको थियो । गभर्नरबाट बिलको अस्वीकृति केही हिन्दूहरु र संगठनहरूको लागि जित हो किनभने उनीहरुले यो बिलले आफूहरूलाई अनुचित रूपमा लक्षित गरेको तर्क गरेका थिए । किनभने जाति व्यवस्था प्रायः हिन्दू धर्मसँग सम्बन्धित छ। उनीहरूले अमेरिकामा जातीय भेदभाव दुर्लभ भएको र वंश तथा धर्मको आधारमा भेदभाव गर्न प्रतिबन्ध लगाउने विद्यमान कानुन पर्याप्त रहेको दाबी गरेका छन् ।

तर गभर्नरको अस्वीकृति बिलका समर्थकहरूलाई झटकाको रूपमा आएको छ । बिलका समर्थकहरुले जनचेतना बढाउन र अगाडि आउन चाहने पीडितहरूलाई आश्वस्त पार्न जातीय भेदभावमा स्पष्ट प्रतिबन्ध आवश्यक भएको बताउदै आएका छन् । गभर्नरलाई विधेयकमा हस्ताक्षर गर्न आग्रह गर्न दक्षिण एसियाली कार्यकर्ताहरूको एउटा समूह सेप्टेम्बरको सुरुदेखि नै गभर्नरको कार्यालयबाहिर अनशनमा रहेका थिए ।

हालैका वर्षहरूमा धेरै विश्वविद्यालय र कम्पनीहरूले आफ्नो भेदभाव नीतिहरूमा जात समेत थपेका छन्। गत महिनाको अन्तमा यस्तो प्रतिबन्ध लागु गर्ने शियाटलपछि क्यालिफोर्नियाको फ्रेस्नो रहेको थियो । गभर्नर न्यूसमले भविश्यमा ह्वाइट हाउसको दौडबारे विचार गरिरहदा उनी भारतीय अमेरिकीहरूबीच लामो समयदेखि चलिरहेको जातीय र धार्मिक तनावको बीचमा जान चाहँदैनन्। यस महिना राज्य संसदका रिपब्लिकन सांसदहरुले बिलको विरोध गरेका थिए भने उनीहरुले बिलको विपक्षमा तर्कहरु गर्दै पत्र पठाएका थिए ।

हजारौं वर्षदेखि दलितहरू दक्षिण एसियामा जातीय रूपमा उत्पीडित समूह हो। भारतले ७० वर्ष भन्दा बढी पहिले जातीय भेदभावलाई आधिकारिक रूपमा निषेध गरेको थियो, तर मनोवृत्ति र सामाजिक स्तरीकरण भने जारी छ। अमेरिकामा पनि आवास, सामाजिक बहिस्कार, रोजगार लगायतका सन्दर्भमा दलित समुदायले विभेदको सामना गरिरहेका कैयन उदाहरणहरु छन् । दशकौंसम्म दक्षिण एसियाली डायस्पोरामा मुख्यतया उच्च जातका मानिसहरूको बाहुल्य रहदै आएको छ । किनभने उनीहरुसँग भिसाका लागि आवश्यक स्रोतहरूमा बढी पहुँच थियो।

जातीय मुद्दा २०२० मा सार्वजनिक बहसको विषय बन्यो जब क्यालिफोर्नियाको नागरिक अधिकार विभागले कम्पनीका दुई इन्जिनियरहरूलाई जातीय भेदभावको आरोप लगाएर सिस्को सिस्टम्सलाई मुद्दा हाल्यो। त्यसबेलादेखि यस्तो भेदभावको जागरूकता बढेको छ । मार्चमा क्यालिफोर्निया राज्यका सिनेटर आइशा वहाबले सिनेट बिल पेश गरेका थिए ।

क्यालिफोर्नियाका सांसदहरूले भिटोलाई ओभरराइड गर्ने अपेक्षा गरिएको छैन। तर अन्य राज्य र शहरहरूले जातीय भेदभावलाई प्रतिबन्ध लगाउने उपायहरू लागू गर्न सक्छन्। क्यालिफोर्नियाका राज्य नियामकहरूले सिस्कोको विरुद्धमा मुद्दा चलाउन जारी राखेका छन्, यद्यपि उनीहरूले इन्जिनियरहरू विरुद्धको उनीहरूको दावीलाई खारेज गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com