सुन काण्डका आरोपीलाई थुनामा राख्न अदालतको आदेश, थप ६ बाक्सा विभागलाई जिम्मा
प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार
सुनको तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई ९ दिन थुनामा राखी आवश्यक अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले राजस्व अनुसन्धान विभागलाई आरोपीहरुलाई थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो ।
राजस्व अनुसन्धान विभागले फरक फरक दिन र समयमा सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको थियो । ती मध्य ६ जनालाई अदालतले बिहीबार १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद दिएको थियो भने आज थप चार जनालाई ९ दिन थुनामा राख्न अनुमति दिएको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिनुुभए अनुसार, अब पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान हुनेछ ।
चिनिया नागरिक जीक्वाङ लिन, सुन ल्याउने कार्गोका सञ्चालक कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्सका सञ्चालक राजन श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान गर्न उच्च अदालतले अनुमति दिएको हो ।
यसैबीच, त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थानबाट एक सय किलो सुन ल्याउने कम्पनी रेड ट्रेड प्रालिको नाममा थप सामान भेटिएपछि भेटिएको ६ बाक्सा सामान राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।
विमानस्थल भन्सार कार्यालयले यी बाक्साहरुमा पनि सुन हुने सक्ने आशंकाले विभागको जिम्मा लगाएको बताएको छ ।
असारको ३० गते हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिकको उडानबाट रेड ट्रेडले ब्रेक सु को बाक्सामा सुन ल्याएको खुलेको थियो । विभागको टोलीले सिनामंगलबाट सुन बरामद गरेपछि अहिले त्यसबारे सिलसिलेवार रुपमा अनुसन्धान भइरहेको छ ।








