धिरजबाट आरोही बनेकी ट्रान्सजेण्डर मोडल भन्छिन् – ‘समाजले हेर्ने दृष्टिकोण अझै खराब छ’


प्रकाशित मिति : असार २२, २०८० शुक्रबार

मिस टिन इन्टरनेशनल-२०२३ की सेकेण्ड रनरअप आरोही बस्नेत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी एक उदाहरणीय पात्र हुन् । उत्कृष्ट पदयात्राको विजेता समेत बनिसकेकी १९ वर्षीया आरोही आफूलाई मोडल तथा कोरियोग्राफरको रुपमा अघि बढाउन चाहन्छिन् । यसअघि सेक्सन गिभ वेमा जुनियर मोडलबाट द्धितिय भएकी उनले प्रथम रनर अपको उपाधी पनि पाएकी थिइन् । उनी विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुँदै आएकी छिन् ।

आरोही आफ्नो समूदायको अधिकारको लागि लड्दै आइरहेकी छिन् । दुई वर्ष अगाडि सर्जरीमार्फत लिंग परिवर्तन गरेकी उनले आफूलाई ट्रान्स उमनका रुपमा परिचित गराउँछिन् ।

आफू अरु भन्दा भिन्न भएको थाहा पाउँदा उनलाई सुरुवाती चरणमा विभिन्न समस्याहरु आइलागे । आफू लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको भएको थाहा पाएर समाजमा राम्ररी खुल्न नसक्दा विभिन्न प्रकारका हिंसा भोग्न बाध्य भइन् । उनलाई आफू को हो रु समाजमा कसरी खुल्ने रु भन्ने चिन्ताले सताइरहन्थ्यो । उनी भन्छिन्– ‘पहिले म नखुल्दा विभिन्न प्रकारका हिंसाहरु हुन्थे । मेरो पहिचान मलाई थाहा नुहँदा म को हो ? कसरी खुल्ने ? भन्ने भइरहन्थ्यो ।’

बस्नेतले समाजमा खुलिसकेपछि आफूसँग सीपको प्रमाणपत्र भएर पनि जागिर पाउन भने सकिनन् । कतिपय ठाउँमा उत्पीडन, लाञ्छना, विभेद खेप्नुपरेको उनी बताउँछिन् । अन्य पुरुष र महिलाहरुले जसरी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले अधिकार पाउन नसकेको उनको दुखेसो छ ।

‘ट्रान्सजेण्डर भनेर भन्दा मेरो समूदायमा त ठिकै छ तर आफूसँग सीपको प्रमाणपत्र भएर पनि जागिर नपाउने र कतिपय ठाउँमा उत्पीडन, लाञ्छना र विभेद खेप्नुपरेको छ । जसरी पुरुष र महिलाहरुले अधिकार पाइरहेका छन्, त्यसरी हामीले अधिकार पाउन सकेका छैनौं ।’- उनी भन्छिन् ।

आफूलाई परिवारबाट भने राम्रो साथ, सहयोग र समर्थन मिलिरहेको छ । कक्षा १२ को परीक्षा दिएर बसेकी बस्नेतले विभिन्न कार्यक्रममा निर्णायकको भूमिकामा काम पनि गरेकी छन् । सानैदेखि पढाईमा अब्बल उनले विभिन्न कार्यक्रममा प्रस्तुती देखाएबापत अवार्ड पनि पाउँदै आएकी छिन् ।

एक वर्ष अघि रामेछापका आर्थिकजंग बस्नेतसँग विवाह गरेकी उनी त्यतिबेला धिरज बस्नेतको रुपमा चिनिन्थिन् । यही बीचमा उनले सर्जरीमार्फत आफूलाई ट्रान्स उमनका रुपमा परिवर्तन गरिन् । तर उनको वैवाहिक सम्बन्ध धेरै समय टिक्न सकेन । सरकारले समलिंगी विवाहलाई मान्यता नदिँदा उनीहरुको सम्बन्धमा ब्रेक लागेको उनको भनाई छ ।

उनी भन्छिन् – ‘म ट्रान्स उमन भनेर आफुलाई चिनाउन चाहन्छु । सरकारले हाम्रो विवाहलाई मान्यता नदिँदा हाम्रो विवाह दर्ता पनि भएन । पारिवारिक समस्या आएपछि हाम्रो सम्बन्धमा ब्रेक लागेको छ ।’

आफ्नो वैवाहिक सम्बन्ध बिग्रेपछि उनी अहिलेको स्थीतिमा वैवाहिक जीवन बिताउन नचाहेको बताउँछिन् । सर्वोच्च अदालतले समलिंगी विवाहलाई अस्थायी रुपमा दर्ता गर्न आदेश दिएपनि उनी विश्वस्त छैनिन् । जब सम्म नेपालमा समलिंगी विवाहको स्थायी रुपमा दर्ता हुँदैन, तबसम्म विवाह नगर्ने उनको योजना छ । तर, आफूहरुको वर्षौदेखिको लडाइँले सार्थक रुप लिँदा सर्वोच्चको आदेशले उनी खुशी भने छिन् ।

घरपरिवारले अस्वीकार गर्ने, घरबाट निकाल्ने, पुरुष समलिंगी भएपनि जबरजस्ती केटीसँग विवाह गरिदिने लगायतका समस्याहरु आफ्नो समुदायले भोग्दै आएको उनी बताउँछिन् । आफ्नो समुदायप्रति नयाँ पुस्ताको बुझाई केही सकारात्मक भएपनि सोँच परिवर्तन हुन नसकेको उनको भनाई छ । केही ठाउँमा आफ्नो समुदायको सम्मान हुने गरेपनि कति ठाउँमा आफूहरुको अपमान हुने गरेको उनको भोगाई छ ।

‘नयाँ पुस्तामा बुझाई राम्रै छ । तर पनि मान्छेको सोँच परिवर्तन भने भएको छैन । कति मान्छे प्राकृतिक हो भन्नुहुन्छ । कति मान्छेले अप्राकृतिक हो भन्नुहुन्छ । अहिले विवाह दर्ताको विषय अस्थायी रुपमा आएपनि कति मान्छेले यस्तो गर्नुहुँदैन, छोरा र छोरीको सम्बन्ध बिग्रिन्छ भन्नुहुन्छ । हाम्रो समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय माथि हेर्ने दृष्टिकोण खराब नै छ । कति ठाउँमा सम्मान भएपनि कति ठाउँमा विभिन्न नकारात्मक शब्दहरु प्रयोग गर्नुहुन्छ,’ – उनी भन्छिन् ।

आफ्नो समुदायको अधिकार हनन भएको भन्दै उनी आफ्नो अधिकार प्राप्त गर्न लडिरहने बताउँछिन् । अन्य महिला तथा पुरुषले जसरी मुलधारका पेशाहरुमार्फत जीविकोपार्जन गरिरहेका छन् उनी पनि त्यसैगरि आफ्नो जीविका चलाउन चाहन्छिन् । उनी भन्छिन् – ’हाम्रो अधिकारको हनन भएको छ । म आफ्नो अधिकार प्राप्त गर्न चाहन्छु । जसरी महिला तथा पुरुषले आफ्नो क्षेत्र ओगटेर जीविकोपार्जन गर्नुहुन्छ । त्यसरी म पनि सकारात्मक हिसाबले समाज परिवर्तन गरेर आफूले आफूलाई मानिस हो भन्ने समाजलाई चिनाउन चाहान्छु ।’

बस्नतेको राजनीतिमा भने त्यती चासो छैन । तर, उनी सञ्चारमाध्यममा रुची राख्छिन् । सञ्चारमाध्यममा आफ्नो समुदायका पक्षमा बोल्न नहिच्किचाउने उनी बताउँछिन् । उनी आफूले आफूलाई माया गरेर भोलिका दिनमा आफ्नो भविष्य अगाडी बढाउन चाहन्छिन् ।

सुरज घिमिरेको सहयोगमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com