दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए


प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ । आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल पुरिएको छ । यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ ।

“हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ, अनि मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ”, हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डिएसपी भट्टले भन्नुभयो । अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उहाँको भनाइ थियो । हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा सङ्कलक त्रिपाल हालेर बस्दै आएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए ।

“केही सङ्कलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरूले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ”, डिएसपी भट्टले भन्नुभयो, “यार्सागुम्बा सङ्कलक स्थानीय बाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको छ ।” खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।

सङ्कलक केही दिनअघि यार्सागुम्बा सङ्कलनका लागि लेकतर्फ उक्लिएका व्यास–१ का वडाध्यक्ष अशोक बोहराले बताउनुभयो । “लगातार हिउँ परिरहेको थियो, सङ्कलन त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा सङ्कलन गर्न जान सकिरहेका थिएनन”, उहाँले भन्नुभयो ।

व्यासस्थित सीतापुलबाट समेत प्रहरी टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com