नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा लागेका पूर्वगृहमन्त्रीका सल्लाहकार राई पक्राउ


प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले नेकपा (एमाले) नेता रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो ।

उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोलीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो । काठमाडौँ प्रहरीको टोलीले ललितपुर प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले यस विषयमा अरू तीन जनालाई पक्राउ गरिसकेको छ । सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जानभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रूपैयाँ ठगी गरेको आरोप छ ।

बादल पछिल्लो समय २०७४ फागुनपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए । उनी गृहमन्त्री भएका बेला इन्द्रजित राई उनका सल्लाहकार थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com