अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन सेना सक्रिय,यात्रुले गाडीमै बसेर रात बिताए


प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार

धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ ।

उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो । उक्त स्थानमा परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ ।

सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुङ्गा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । अवरुद्ध सडक खुलाउन आज बिहानदेखि नै सेनाको थप फौज परिचालन भएको पनि उहाँले जानकारी दिनुभयो ।
हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रुको भने बिचल्ली भएको छ । लामो दूरीका गाडी चल्ने मुख्य राजमार्ग भएकाले लामो दूरीका यात्रु अलपत्र परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com