शान्ति सुरक्षामा कमी हुन दिन्न : उपप्रधानमन्त्री श्रेष्ठ


प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि कमी हुन नदिने दृढता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति सुरक्षा खलबल्याउने काममा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताउनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि झापा जाने क्रममा केही व्यक्तिले अनाधिकृत गतिविधि गरेको भन्दै एमालेका सांसद पदम गिरीले गृहमन्त्रीको ध्यानाकर्षण गराएपछि उपप्रधानमन्त्री श्रेष्ठले शान्ति सुरक्षाको सवालमा कुनै पनि तलमाथि हुन नदिइने उल्लेख गर्नुभयो । शान्तिपूर्णरुपमा आफ्ना गतिविधि गर्न तथा धारणा राख्न हरेक नागरिक स्वतन्त्र भए पनि गैरकानुनी गतिविधि गर्ने छुट कोही कसैलाई पनि नभएको उहाँको भनाइ छ ।

यस्तै, काठमाडौँको कपनमा भाडा पसल गर्दै आउनुभएकी निरा पाण्डेको हत्याको प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । पाण्डेको हत्या भएको धेरै दिन बित्दासमेत सत्यतथ्य पत्ता नलागेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापालगायतले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले अनुसन्धानको प्रक्रियालाई गम्भीररुपमा अगाडि बढाइएको र सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनको कठघरामा ल्याउन कुनै पनि कसर बाँकी नराखिने बताउनुभयो ।

‘मिटरब्याजी पीडितको समस्या समाधान हुन्छ’

यस्तै, गृहमन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले कानुन निर्माणको कामलाई युद्धस्तरमा अगाडि बढाएको जानकारी दिनुभयो । पीडितसँगको सहमतिअनुसार नै सरकारले छिट्टै विधेयक ल्याउने र यो समस्यालाई सदाका लागि समाधान गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले गैरकानुनीरुपमा कोही कसैको चलअचल सम्पत्ति कब्जा गर्न नपाइने उल्लेख गर्दै सरकारले गठन गरेको आयोगले हरेक पीडितको बारेमा जानकारी राखेर आवश्यक कारबाही अगाडि बढाउने बताउनुभयो । मिटरब्याजीको गैरकानुनी सम्पत्तिको स्रोत खोजिने र सम्पत्ति शुद्धीकरण कानुन अनुसार पनि छानबिन गरिने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सामन्तवादको अवशेषको रुपमा रहेको यो समस्यालाई यस पटक हर हालतमा समाधान गरेरै छाडिने दृढता व्यक्त गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले सामाजिक न्यायसहितको प्रक्रियालाई अगाडि बढाउन र सहजरुपमा गरिब तथा आर्थिकरुपमा कमजोर वर्गले ऋण लिन पाउने एवं आर्थिक गतिविधि गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केही दिन पहिले मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

नागरिकताविहीन नागरिकलाई सहजरुपमा नागरिकता उपलब्ध गराउने काममा कुनै ढिलाइ नगर्ने बताउनुभयो । उहाँले नागरिकताका विषयमा सिङ्गो देश र सदन एकमत हुनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री श्रेष्ठले यस विषयमा मतैक्य हुनुपर्ने र राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राख्नुभयो । शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com