प्रतिगमनकारी हावा चलिरहेको छ,सिद्धान्त बिनाको चटकेले केही गर्दैन: डा भट्टराई


प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन् ।
शनिवार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए ।

उनले वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए । उनले सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरुको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको बताए । उनले नयाँ पार्टीहरुले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गरे ।

‘यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ’, भट्टराईले भने ।

कुनै विचार धारा नभएको र सिद्धान्त नभएको व्यक्तिले पपुलिजमका रुपमा देशका गम्भीर समस्याको कुनै विश्लेषण नगरी जनतालाई आश्वासन दिँदै हिडेको उनको भनाइ थियो। ‘म आएपछि सबै गर्दिन्छु भनेर एउटा मान्छे उफ्रिन्छ, अनि गरिबीले बाध्य भएर विदेशियका जनता त्यसैलाई ताली पिट्छन्’ उनले भने-‘के त्यो जादुगर हो ? यस्तो चटकेहरूले केही गर्न सक्दैनन्।’ उनले कम्युनिस्ट दलहरू अब एक भएर समाजवादी बाटोमा हिँड्न नसके अहिलेको व्यवस्था नै खतरामा पर्ने संकेत देखिसकेको समेत बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com