फूलैफूलले सजियो धोबी खोला कोरिडोर


प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार

शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् ।
यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न फूल फुलेर ढकमक्क भएका छन् । रङ्गीविरङ्गी फूल फुलेर करिडोरको शोभा बढाउनाका साथै खोलाको सौन्दर्य पनि मनमोहक देखिन्छ । कोरिडोरमा लगाइएका बिरुवाले शोभामात्र नदिएर वातावरणलाई समेत सफा राखेको छ ।

धोबीखोला कोरिडोर केही वर्ष अघिसम्म वर्षामा हिलो र हिउँदमा धुलो तथा प्रदूषणले यात्रा गर्न कठिन थियो । हिजोआज त्यही सडकमा दिनहुँ यात्र गर्ने यात्रुहरुलाई कोरिडोरको दृश्यले मोहित बनाएको स्थानीयवासीहरु बताउँछन् । कालोपुलमा फूलसँग तस्बिर लिँदै गर्नुभएकी स्थानीय उषा बुढाथोकी बिहानको समय र साँझपख केही छिन फूलसँगै बसिरहुँजस्तो लाग्ने गरेको उल्लेख गर्नुहुन्छ ।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई धोबीखोला कोरिडोरमा लगाइएका बिरुवाहरु संरक्षण गर्न नगरपालिकाले चारजनाको समिति बनाएर रेखदेख गर्दै आएको जानकारी दिनुहुन्छ। उहाँका अनुसार कोरिडोर वरपरका बिरुवामा पानी हाल्ने, कटिङ गर्ने तथा हेरचाह गर्ने काम समितिले गर्दै आएको छ ।

त्यसैगरी रातोपुल नजिकै बस्ने सुस्मिता फुयाँलले कोरिडोरमा ढकमक्क फुलेको फूलले धोबीखोलाको रुप फेरिएको चर्चा गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुनै समय फोहोरले भरिएको धोबीखोला परिवर्तन होला जस्तो लागेको थिएन । दुर्गन्धित त अहिले पनि उत्तिकै छ तर फूलहरु फुलेका कारण अहिले धोबीखोला रमणीय बनेको देख्न सकिन्छ ।

काठमाडौँ महानगरअन्तर्गत धोबीखोला किनारका लागि महानगरको वातावरण विभागले बिरुवा संरक्षण गर्दै आएको महानगरका प्रवक्ता नवीन मानन्धर जानकारी दिनुहुन्छ । आगामी दिनमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनामार्फत नयाँ बिरुवा रोप्ने तयारी रहेको उहाँको भनाइ छ ।

अहिले धोबीखोलमा फूल मात्र फूलेका छैनन् विभिन्न औषधिमूलक जडीबुटी पनि उपलब्ध छन् । बढी अक्सिजन उपलब्ध गराउने वर पीपललगायत जन्डिस भएको समयमा प्रयोग गरिने लहरे जडीबुटीसमेत कोरिडोरमा छन् ।

बूढानीलकण्ठ नगरपालिका–१३ भद्रकाली मन्दिरदेखि काठमाडौँ महानगरपालिका पर्ने भत्केको पुल, रातोपुल हँुदै बानेश्वरको बुद्धनगर हुँदै बगेको धोबीखोला करिडोरअन्तर्गत करिडोर सडकमा अहिले मनै लोभ्याउने फूलहरु फुलेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com