महाभारत पारी बालविवाह रोक्न निरन्तर अभियान


प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार

–राजकुमार पराजुली/पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा बालविवाह रोक्न निरन्तर चेतनामूलक अभियान जारी राखिएको छ । ती दुवै गाउँपालिकाका माध्यमिकस्तरका विद्यार्थी स्कुले उमेरमै विवाह गर्न थालेपछि गाउँस्तरमा अभियान थालिएको हो ।

विशेषगरी ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीले बालविवाह गर्ने गरेको विद्यालयका शिक्षक बताउँछन् । “गत शैक्षिक सत्रमा कक्षा १० मा ५० विद्यार्थी भर्ना भएकामा ४२ मात्रैले अन्तिम परीक्षा दिएका छन्, अनुपस्थित आठमध्ये स्थानीयस्तरमा अनुसन्धान गर्दा छ छात्रछात्राले विवाह गरेको पाइयो”, महाभारत गाउँपालिका शिक्षा समिति सदस्य एवम् गोकुले माविका प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार केही वर्षदेखि नै यस्तो क्रम जारी रहेकाले गाउँपालिका, विद्यालय, आमा समूह, वडा कार्यालय तथा स्थानीय युवा क्लबमार्फत जनचेतनामूलक कार्यक्रम तथा ¥याली र प्रदर्शन गर्दै आइएको छ ।

महाभारतपारि अवस्थित तामाङ समुदायमा यस्तो घटना दोहोरिरहेको बताइन्छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा बालविवाह रोक्ने विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको अध्यक्ष कान्छालाल जिम्वाले बताउनुभयो । “हामी बालविवाहका घटना न्यूनीकरणमा लागेका छौँ, विगत वर्षमा भन्दा सङ्ख्यात्मक दरमा केही कम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार वडास्तरका सामाजिक अगुवालाई माध्यमिकस्तरका विद्यार्थीको घरघरमै गएर कम उमेरा विवाह गर्दाको शारीरिक, मानसिक र आर्थिक असरबारे सम्झाउने अभियानसमेत गरिएको छ ।

केही अप्ताअघि जिल्लास्थित स्वास्थ्य कार्यालयको आयोजनामा भएको एकीकृत स्वारथ्य शिविरमा सहभागिता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उक्त स्थानको बालविवाहको घटना न्यूनीकरण गर्न आवश्यक वैकल्पिक कार्यक्रमका लागि स्थानीय तह तथा सरोकारपवाला निकायको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । “हरसम्भवका उपाय अपनाएर बालविवाहका घटना रोक्नुपर्छ, यसका लागि सबै क्षेत्र समुदायले सहयोग गर्न आवश्यक छ”, पौडेलले भन्नुभयो ।

बालविवाह न्यूनीकरण गर्दै रोक्ने सम्मको उद्देश्यसहित खानीखोला गाउँपालिकाले गत पुस महिनामा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक अभियान नै सञ्चालन गरेको थियो । बालविवाहलाई न्यूनीकरण गर्न गाउँपालिकाले तालिका बनाएर स्थानीय माविमा सडक नाटक अभियान सञ्चालन गरेको हो । “बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान सञ्चालन गरेका थियौँ, यसलाई पुनः निरन्तरता दिनुपर्ने देखिएको छ”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भन्नुभयो ।

उहाँका अनुसार अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिन गाउँपालिकाले बजेट छुट्याएको छ । सो गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि ठूलो समस्याका रुपमा रहेकाले योजनाबद्ध रुपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको थिङले बताउनुभयो । उहाँले भन्नुभयो, “नाटकमा सानै उमेरमा विवाह गर्दा घरव्यवहार र शारीरिक रुपमा पर्ने समस्याबारे अभियानमा जानकारी दिने गरिएको छ ।” उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख भाग्यपुरुष ढकाल डाँडापारिका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताउनुहुन्छ । उहाँले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको बताउनुहुन्छ ।

गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरुको ‘उमेर’ पुगेको थिएन । जिल्ला सदरमुकाम धुलिखेलकै सो विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटना एक अध्ययनले देखाएको थियो । अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बाल विवाह’ गरेको शिक्षक नै बताउँछन् ।

सो स्कुलमा अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने कुनै निकायमा उजुरी परेको थिएन । बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बाल अवस्थामै विवाह हुने गरेको धुलिखेलकै एक सामाजिक संस्थाको अध्ययनले देखाएको थियो ।

सो विद्यालयका शिक्षक रामेश्वर पौडेलले उमेर नपुग्दै विवाह गरेकामध्ये केही विद्यार्थीले विद्यालय आउनै छोडेका छन् भने केही विद्यालयमा अध्ययनका लागि आइरहेको बताउनुहुन्छ । उहाँका अनुसार बालविवाह रोक्न अभिभावक र विद्यालयका शिक्षकसँग अन्तरक्रिया गरी बालविवाहबाट पर्ने प्रभाव बारेमा जानकारी दिइने गरिएको छ । “यस्तो घटना न्यूनीकरणका लागि घरमा अभिभावक र विद्यालयमा शिक्षकले विद्यार्थीको चालचलनसमेत बुझ्नुपर्ने हुन्छ, हामी सबै तरिका अपनाई बालविवाहजस्तो गम्भीर समस्या सुल्झाउन लाग्ने योजनामा छौँ”, पौडेलले भन्नुभयो ।

जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिदै गएको देखिन्छ । प्रजिअ पौडेल बालविवाहविरुद्ध उजुरी नपरेसम्म केही गर्न नसकिने बताउनुहुन्छ । “विशेषगरी स्थानीय तहले बालविवाह विरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० सालमै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ ।-सांकेतिक तस्बिर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com