शैक्षिक सत्र सुरु नहुँदै यस पटक हुम्ला र जुम्लामा पुगे पाठ्यपुस्तक


प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार

हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् ।

आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्मका करिब सात सय थान पाठ्यपुस्तक आइसकेका छन् । जिल्लाको हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार पाठ्यपुस्तक पुगेको उहाँको भनाइ थियो ।

यही वैशाख ३ गतेदेखि हिमा गाउँपालिकामा पाठ्यपुस्तक पुग्ने भएको छ । तातोपानी गाउँपालिकाले पनि पुस्तक माग गरेको छ । अरू स्थानीय तहबाट पनि माग आउन थालेको र थप पुस्तक पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । अहिले छ हजार एक सय थान पाठ्यपुस्तक जिल्लामा पुगेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले बताउनुभयो ।सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर पुस्तक आएको छ ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो । यो वर्ष समयमै पाठ्यपुस्तक आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको यहाँका स्टेसनरी सञ्चालकले बताए । स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् । जिल्लामा कूल एक सय ८४ सामुदायिक विद्यालयमा करिब ४० हजार हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको शिक्षा समन्वय इकाइले जनाएको छ । हिमाली जिल्लाहरूमा फागुनदेखि विद्यालय सञ्चालनमा आएपछि पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरूको पढाइमै असर परेकोे थियो । मतपत्र समयमै पुग्ने तर विद्यार्थीका लागि किताब नपुग्नाको कारणबारे जिल्लाका सांसदले सांसदमै आवाजसमेत उठाएका थिए । स्थानीय सरकारबाट किताब पुगअपुग भएको सन्दर्भमा केही जानकारी नआएको यहाँका सामुदायिक विद्यालयले जनाएका छन् ।

जुम्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै जुम्लामा पनि सोही अनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । विसं ०७९ माघ ६ गतेको मन्त्रिस्तरीय निर्णयबाट सबै जिल्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु गर्ने सरकारको तयारी छ तर अघिल्ला वर्षमा हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । हिमाली जिल्लाले पुस १० देखि माघ २५ गतेसम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए ।

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक
समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।

शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै पुस्तक पाउने भएका छन् । पुस्तक नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ ।

जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ । योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ ।

ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पु¥याउने जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ शैक्षिक सत्र सुरु नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन ।

सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताउनुभयो । नेपालगञ्जबाट गाडीमार्फत ढुवानी गरेर जिल्लामा पु-याइएकाले ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उहाँको गुनासो थियो ।

“पहिला जिल्ला शिक्षा कार्यालयमार्फत मङ्सिरको दोस्रो चौमासिकमा पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित विद्यालयमा रकम उपलब्ध गराई पुस्तक खरिदको प्रक्रिया अगाडि बढाइन्थ्यो”, शाहीले भन्नुभयो । अहिले पुस्तक खरिदका लागि स्थानीय पालिकाले प्रक्रिया अगाडि बढाए पनि पुस्तक खरिदको रकम समयमा दिन नसकेको उहाँले बताउनुभयो । पालिकाले पाठ्यपुस्तक खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण निकालेर शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक सम्बन्धित विद्यालयमा पु-याएको शाहीको भनाइ थियो । पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका पुस्तक डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गर्नुभयो ।

पुस्तक पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले पुस्तक खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन् । पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट पुस्तक लैजान सकिने शाहीको भनाइ थियो । यी चार पालिकामा पैदल मार्गमार्फत केही दिनअघि पुस्तक पुगिसकेका छन् । कक्षा १ देखि १० सम्मका सबै विषयका पुस्तक पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिनुभयो ।

तीन गाउँपालिकाको पुस्तक भोलिदेखि ढुवानी हुने

जिल्लाको माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुग्न सकेको छैन । हवाई मार्गमार्फत ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत ढुवानी गरिने ढुवानीको जिम्मा लिनुभएका ज्ञानबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार तीन पालिकाका लागि भोलि शनिबारदेखि नेपालगञ्जबाट पैदल मार्ग भएर ढुवानी गरिने छ ।

शनिबारदेखि पुस्तक ढुवानी सुरु गरी एक हप्ताभित्र पैदल मार्गबाटै सदरमुकाम पुग्ने रोकायाले बताउनुभयो । उहाँले तीन पालिकाका ५८ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पु¥याउने जिम्मा लिनुभएको हो ।

यो वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने

हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैँ पाठ्यपुस्तकको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन् । कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरु भएसँगै पुस्तक पाउने भएका हुन् । हुम्लाका चार गाउँपालिकामा पुस्तक पुगिसकेका छन् भने तीन पालिकाका लागि शनिबारदेखि ढुवानी सुरु हुदैँछ ।

यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र बैशाखदेखि सुरु हुने गरेको छ । कोरोना महामारीका समयमा पठनपाठनमा समस्या भएपछि यहाँका स्थानीय तहले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका हुन् ।

तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने र मङ्सिरको अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्दै आएका थिए । कोरोना सङ्क्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न थालिएको मानसरोवर उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com