सात सय मिलियनको मेगा मिलियन ज्याकपट र म


प्रकाशित मिति : चैत्र २९, २०७९ बुधबार

– पासाङ शेर्पा

न्युयोर्कको ज्याक्सन हाइट्स डबलीमा एक हुल मान्छेहरु बिहानको न्यानो घाममा तातो–तातो चिया पिउँदै गफ लडाइरहेका थिए । त्यसमध्ये दुईचार जना त चिनेकै साथीहरु थिए । गफ मज्जाले मच्चिरहेको थियो ।

म पनि उनीहरुसँग जोडिन पुगेँ । त्यहाँ हिजो राति मात्रै खोलेको मेगा मिलियनको बारेमा चर्चा भइरहेको रहेछ ।

मैले सोधेँ– ‘मेगा मिलियन कसैलाई परेछ कि क्या हो?’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरो प्रश्न पूरा गर्न नपाउँदै एक जना मित्रले भने– ‘हो त नि । क्वीन्समै पो परेछ ।’

त्यतिकैमा अर्को साथीले उत्सुकताका साथ सोध्दै थियो– ‘ए हो र ? सात सय मिलियन ! यो त ज्यादै ठूलो रकम पो हो त ! कसलाई पो परेछ कुन्नि ।’

उत्तर कसैसँग थिएन । उनीहरु पनि कतै सुनेको आधारमा त भनिरहेका थिए । सबै अन्योलमै थिए । त्यहाँ भएकाहरु, कोही भन्छन् – ‘मैले पनि किनेको थिएँ अब नम्बर जाँच्नु पर्ला ।’

त्यस्तै अर्को साथी भन्दै थिए– ‘मैले त जाँचिसके दुई डलर मात्र परेको रहेछ ।’

यसरी नै त्यहाँ भएका सवै जना आ–आफ्ना कुराहरु राखिरहेका थिए । कोही भने ‘सधै लोटरी किन्ने गरेको थिएँ । हिजो मात्रै कसरी बिर्सेछु’ भन्दै दुखासो पोख्दै थिए ।

उनीहरुको जिज्ञासायुक्त भनाइहरुमा मैले पनि थपेँ– ‘जे होस्, जसलाई परे पनि क्वीन्सको मान्छेलाई नै परेछ नि । यसैमा पनि हामी खुशी हुनुपर्छ । अहिलेसम्ममा कुइन्समा यसरी ठूलो रकम परेको सुनेकै छैन ।’

लोटरी किनेकाहरुले चेक गर्न हतार गरिरहेका थिए । म पनि यसो गोजी छामछुम गरेर टिकेट हेर्छु । मलाई टिकेट किनेको झट्ट दिमागमा आएको थिएन ।
मनमनै संझिन कोसिस गरेँ– ‘हन ! मैले लोटरी किन्न नै बिर्सेछु कि क्या हो ? सधँै त यस्तो ठूलो रकम भएको मेगा मिलियन र पावर बलको टिकेट किन्ने गरेको हुन्थेँ । हिजो मात्रै कसरी बिर्सेछु ।’

म एकछिन यसो सोचमा परेँ ।

‘मैले किनेकै हुनुपर्छ ।’ मलाई अलि–अलि याद आएजस्तो भयो ।

हिजो ७३ स्ट्रिटको महाराजा रेष्टुरेन्टमा सिँगडा किन्दा फिर्ता आएको चार डलरले सँगै जोडिएको लोटरी पसलबाट मेगा मिलियन चिठ्ठा पनि त किनेको थिएँ । मैले झण्डै पो बिर्सेछु । ठूलठुूला रकम राशि भएको भेला कम्तीमा पनि दश डलर खर्च गरेर लोटरीको लागि टिकेट खर्चिने गर्छु ।

बिर्सिने त कुरै भएन । तर लोटरीको टिकेट पो कहाँ राखेँ हुँला फेरि । याद गर्ने कोसिस गरेँ । हिजो कुन लुगा पो लगाएको थिएँ भनेर संझिने कोसिस गरेँ ।

ए अँ… बल्ल याद आयो ।

कालो ज्याकेट लगाएको थिएँ र त्यसैमा राखेको हुनुपर्छ भनेर खोज्दा अगाडिको खल्तीमा भेटियो पनि ।

क्वीन्समा पर्‍यो भनेपछि कतै परिहाल्यो भने त भन्दै नजिकैको ग्रोसारी पसल जहाँ लोटरी पनि बेच्थ्यो, म लखर लखर हिँड्दै गएँ ।

‘जित्न त के जित्ला र ! र पनि हेर्नु त पर्‍यो ।’

मेरो त खासै लक पनि छैन । मलाई त ‘दुःख गरेर नै कमाएर खा’ भनेर भगवानले पठाएको हुनुपर्छ । सजिलै पैसा कमाएको याद छैन । लोटरीहरु खेलिरहँदा पनि सानो–सानो रकम बाहेक ठूलो रकम परेको थिएन ।

त्यसकारण म यस्तो भाग्य चिठ्ठामा त्यति विश्वास चाहिँ गर्दिन । तर पनि मन सन्तुष्टिको लागि बेला बेलामा किन्ने गर्छु ।

पसलमा मान्छेहरुको घुइँचो रहेछ । कोही नम्बर खेल्नमा ब्यस्त देखिन्छन् । कोही भने काउन्टरमा अडेस लागेर लोटरी स्क्रयाच गरिरहेका देखिन्थे । कोही मेगा मिलियन चिठ्ठा परिहाल्यो कि भनेर टिकेट स्क्यान गरेर हेर्दै थिए ।

जे होस् पसलमा भएकाहरु सबै आ–आफ्नै धुनमा व्यस्त देखिन्थे । त्यसमध्येमा मैले चिनेको अनिस भाइ पनि चिठ्ठा किन्दै गरेको देखेँ । उनी आफ्नै सुरमा व्यस्त थिए ।

टाउकाको हल्लाइको इसाराले हाईहेल्लो ग¥यौँ ।

एक छिन पालो त कुर्नै पर्‍यो । नभन्दै पालो पनि आयो ।

एक–एक गरेर टिकेट स्क्यान मेसिनमा स्क्यान गर्न थालेँ । पहिलो टिकेट हाल्दा स्क्यानमा ‘सरी यु आर नट वीनर’ स्क्रिनमा देखायो । धेरैको लागि यो नौलो कुरा भएन । केही रकम जित्ला कि भन्ने त मात्रै पाँच प्रतिशत पनि हँुदैन । र पनि मान्छेहरु खेलिरहेकै हुन्छन् ।

झिनो आशा लिएर दोस्रो टिकेट पनि स्क्यान गरेँ । ‘डिनट्यारेङ’ केही न केही रकम जित्यो भन्ने संकेत लोटो मेसिनले दियो । दुई चार डलर भए पनि जित्यो भन्ने लाग्यो । लोटो मेसिनको स्क्रिनमा हेर्छु त ‘काङग्रचुलेसन ! यु आर ज्याकपट वीनर’ भनेर स्क्रिनमा देखायो ।

‘हन के देख्दै छु । यो के हो ?’ म अतालिएँ ।

लोटरी बेच्ने पसले पनि छक्क पर्दै एकछिन मुख खोलेको खोल्यै, आँखा पनि ठूल्ठूला परेर मतिर हेरिरहे । झन् म यता अलमल्ल ! मेरो केही बोली फुटेन न त पसलेको नै । बस् चुपचाप एकछिन त सन्नाट नै छायो ।

सबै जनाको ध्यान आफ्नै काममा भएकोले व्यस्त भएकोले अरुले खासै चाल पाएनन् । अनिस हाम्रो अनुहारको भाव देखेर अचम्म मान्दै पिलिक्क स्क्रिनतिर हेरपछि ऊ पनि हेरेको हेरै भए ।

मैले चोर औँला मुखमा राख्दै ‘हल्ला नगरौं है’ भन्ने इसारा गरेँ । उनले पनि मेरो भाव बुझे । चुप बसे उनी, त्यहाँ केही नभएको जस्तो ।
त्यसपछि मैले सोचेँ अब यहाँबाट निस्किहाल्नु पर्छ । एकछिन पनि रोकिनु हँुदैन । लोटरीको टिकेट लिएर हातको इसाराले वाई भन्दै म चुपचाप पसलबाट निस्केँ ।

मैले अनुमान लगाएँ । म निस्केपछि यहाँ अब ठुलै हल्लाखल्ला हुनेवाला छ ।

म सरासर कोठामा गएँ। कोठामा पुग्दा सम्मको बाटोमा कसरी पार गरेँ, पत्तै पाएन । कोठामा पुगेपछि पनि के गरुँ–के गरुँ भयो । घरमा अरु कोही थिएन । घरका मान्छेहरुलाई फोन गरेर सुनाउँजस्तो पनि लाग्यो ।

‘हैन के हो–के हो । उनीहरुका प्रतिक्रिया कस्ता पो आउने हुन् ? अचानक यस्तो खुशीको खबर सुनाउँदा केही पो होला कि ?’ म अतालिएको जस्तो भएँ ।

अनि लामो सास फेर्दै एक छिन बेडमा ढल्केँ अनि लामो सास ताने। सबै कुरा सपना जस्तै भइरहेको थियो ।

त्यसपछि उठेर फेसबुक खोलेर हेर्छु । कुइन्सको मान्छेलाई मेगा मिलियन परेको कुरा बजारमा भुसमा आगो सल्केको जतिकै फेलिरहेको थियो ।

‘जित्ने को होला ? जित्नेले कति रकम पो हात पार्ने हुन् कि?’ चासोसाथ लेखेका कमेन्टहरु जतासुकै देख्छु । पैसा भनेपछि सबैको कति चासो हुँदोरहेछ । नहोस् पनि कसरी, सानोतिनो रकम त हैन ।

म भने रुमको बेडमा बसेर सामाजिक सञ्जालमा आइरहेका प्रतिक्रियाहरु एकाएक गरेर हेरिरहेको थिएँ । धन्न प्रत्यक्षदर्शी अनीष भाइले मेरो नाम चुहाएनछन् । नेपाली, बंगाली टिबटेन मध्ये कसैले जितेको हुनुपर्छ भनेर अनुमान लगाउनेहरु पनि कम थिएनन् । उनीहरुको बुझाइमा यी समुदायका मान्छेहरु धेरै लोटरी खेल्छन् भन्ने रहेछन् ।

यता मैले जितेको भन्ने कसैले सुइँकोसम्म पनि पाएको रैनछ । अनिष भाइ र पसलेले पनि मेरो गोपनियताको ख्याल गरेका रहेछन् । कसैलाई सुनाएछन् । पसलेलाई मेरो नाम नभए पनि अनीषले त मलाई राम्रै चिन्थे ।

के गरुँ–के गरुँजस्तो मेरो मन छट्पटिरहेको थिएँ । कसलाई भनौं । अब केही पो गर्नु पर्ने हो कि ?

सबै कुरा सपनाजस्तै एकैचोटि भइरहेको छ ।

के म होसमा त छु र ? आफूलाई विश्वास लागेको थिएन । कतै झुक्केको त हैन भनेर आफूले आफैलाई चिमोटेँ । टेबुलको फोन लिएर मेगा मिलियन टिकेटको नम्बरलाई फेरि जाँच गरेँ। ठिकै त देखाउँछ । वल्ल ढुक्क भएँ ।

सोच्दा सोच्दै म त एकछिन सोफामै पो निदाएँछु । स्कुलबाट फर्किएको छोराले उठाउँदा पो झसङ्ग बिउँझेँ । यी सवै सपनाजस्तै लागिरहेको थियो । घरपरिवारलाई सुनाउनुभन्दा अगाडि फेरि एक चोटि मेगा मिलियन नम्बरलाई जाँच्नु पर्ला । अनि मात्रै घरको मान्छेहरुलाई शुभ खबर सुनाउँला । फेरि त्यही विधि अपनाएर गुगलमा गएर मेरो मेगा मिलियन नम्बरलाई पुनः जाँच गरेँ ।

मलाई बारम्बार सपना जस्तै लागिरहेको छ । राति निद्रामा देखिने रमाइलो सपनाहरुले धेरै पटक झुक्याउने गरेको छ । कतै त्यस्तै त होइन, मनमनै सोचेँ । तर दोहोराई–तेहेराई हेर्दा पनि नम्बरहरु मिलेकै देख्दा विश्वास नगर्ने ठाउँ पनि त थिएन । परिवारका सदस्यहरुलाई कसरी सुनाउँ, उनीहरुबाट प्रतिक्रिया कस्तो आउने होला । खुशीको कुरा सुनाउनलाई हिम्मत जुटाउनुपर्ने भयो । परिवारका सदस्यहरुलाई सुनाएँ पनि ।

‘ए हो र ?’ भन्दै सबैजना एकछिन त चकित थिए । अलि विश्वास पनि लागेन कि क्या हो, श्रीमती भन्दै थिइन् ।

‘नचाँहिदो गफ नलगाउनु न !’ मैले बुझाउन पनि लोटरीको नम्बर नै देखाउनु पर्‍यो । र पनि उनीहरु यकिन गर्न सकिरहेका थिएनन् । झट्टै विश्वास गर्न गाह्रो भएको थियो ।

छोरा अचम्म मान्दै, ‘पापा आर यु स्योर ? डबल चेक योर नम्बर ।’ अविश्वासको भावमा छोराले सोध्यो । जवाफमा मैले भनेँ ‘एस एस छोरा, आई चेक्ड अलरेडी फाइब सिक्स टाईम । दियर इज नो डउड !’

परिवारमा हर्ष, उत्सुकतासंँगै अन्योलको वातावरण बन्यो । के होला, कसो होला । यो कतै दिउँसै देखेको सपना त नहोस् है । सबै जनाको आ–आफ्नै किसिमको तर्क वितर्कसहितका सुझावहरु दिइरहेका थिए ।

श्रीमतीलाई अझै पनि विश्वास लागेको थिएन क्यारे, ‘मलाई त रकम हातमै नपरेसम्म त विश्वास नै लाग्दैन । त्यतिन्जेलसम्म कसैलाई हल्ला गर्ने होइन नि है ।’ उनी भन्दै थिइन् ।

यसरी नै अन्योलको वातावरणमा त्यो दिन बित्यो । अर्को दिन लोटरी दावी गर्न गयौं । यति ठूलो रकम त्यति सजिलै त के होला र । दुई–तीन दिनको कानुनी प्रक्रियापछि रकम हात लाग्यो । जिन्दगीमा नसोचेका कुराहरु एकाएक भइरहेको थिए ।

हिजोका दिनसम्म इच्छा,आकांक्षाहरु धेरै थिए । जुन चिज पाउनुका लागि हामी मरिहत्ते गथ्र्यौं । त्यो क्रमिक हासिल गर्दै गएको भए त्यसको महत्व पनि अलि बेग्लै हुन्थ्यो होला तर यसरी अचानक नै सबै पाउँदा हर्ष हो कि बिस्मात छुट्टाउनु नै गाह्रो भइरहेको थियो । मलाई हिजोको दिनको भन्दा अझ थप चुनौतीहरु पो थपेको महसुस भयो ।

अब कसरी अगाडि बढ्ने ? केही रकम कतै डोनेट पो गर्ने हो कि । जस्ता विषयमा चासो दिन थालेँ । यतिको ठूलो धनराशि भएको लोटरी जितेपछि कतै शत्रु लाग्ने त हैन ? अनगिन्ती प्रश्न र चासोहरुले एकाएक मनमा डेरा जमाइरहेको थियो । पैसा नै सबैथोक हो, पैसा भएपछि सबै ठिक भइहाल्छ भन्ने सोचमा परिवर्तन हुँदै थियो ।

त्यतिन्जेल सम्ममा हामी घरबाट अज्ञात स्थलको होटेलमा सारिसकेका थियौँ । बजारभरि एकाएक हल्ला फिँजिसकेकोले फोनमा मेसेसहरु आउन थाले । साथीहरु धेरैले थाहा पाइसकेका रहेछन् । फोनको रिङ छिनछिनमा बजिरहेका हुन्थे ।

बधाई दिनेहरुले फेसबुकको वालहरु पुरै रङ्गाइरहेको थियो । फेसबुक, टिकटक, इन्स्टाग्रामहरुमा अपुष्ट समाचारहरु पनि त्यतिकै भाइरल भइरहेका थिए ।

म यता यी सबै गतिविधिहरु होटेलको कोठाबाट नियालिरहेको थिएँ । एक किसिमको रमाइलोको अनुभूति भइरहेको थियो । नाता, आफन्तहरुबाट फोन आउने मेसेज गर्ने पनि त्यतिकै भइरहेको थियो ।

श्रीमती उनीहरुसंगै गफ गर्नुमा व्यस्त थिइन् । सामाजिक सञ्जालहरुबाट आएको म्यासेज जबाफ दिदै बस्नु संभव नै भएन, त्यसकारण म्यासेज पढेर रमाइरहेको थिएँ । कतिले सल्लाह, सुझावहरु सहितको म्यासेज गरिरहेका थिए– रकमलाई के कसरी सदुपयोग गर्नु पर्छ, अब जे गर्ला, कसो गर्ला जस्ता विषयमा बहस नै भइरहेको थियो, फेसबुकमा ।

कहिले–कहिले आफू मिलियनर भइसकेको आभासलाई नै भुल्थेँ र घरी–घरी मनमा नियमित कामको र काममा पुग्नुपर्ने समयको यादले झस्काउँथ्यो ।
फेरि होसमा आउँछु र सोच्छु– म मल्टिमिलियनर भइसकेको हुँ त । अब मैले पैसाको लागि काम होइन, मेरो लागि पैसाले काम गर्छ ।
आज खरिद गरेर हुने सबै खरिद गर्न सक्ने अवस्थामा पुगेको छु त । र पनि लागेको बानीले बेलाबेलामा त्यै पहिलेको ठाउँमा पुराउँदो रहेछ ।

यसरी दुई–चार दिन गर्दै हप्ता दिनबितेको पत्तै पाएन । म मात्रै होइन परिवारहरुको हाल पनि त्यस्तै थियो । एक किसिमले कोभिड महामारीको बेला जसरी लकडाउनमा घरबन्दीको जिन्दगी बितेको थियो, ठिक त्यस्तै पो भइयो । कसले के पो गर्ने हुन्, के पो भन्ने हुन् कि ? जस्ता मनको त्रासले सताइरहेको थियो ।

अघोषित भुमिगत भएर आफुले आफैलाई सजाय नै दिएको जस्तो भयो । यसरी कति दिनसम्म चल्छ ? अब मैले ठण्डा दिमागले सोच्ने समय आएको छ । म सार्वजनिक हुनै पर्छ । मनमा यस्तै सोचहरु आउन थाल्यो ।

त्यसपछि बिस्तारै साथीहरुको फोनहरु उठाउन थालेँ । नजिकको मित्रहरुसंग भेटघाट बाक्लिदै गइरहेको थियो । भेटेका जति सबैले बधाईका साथै एक किसिमको सल्लाह सुझावहरु दिइरहेका हुन्थे । म पनि उनीहरुको सुझावहरु ध्यानपूर्वक सुनिरहेको हुन्थेँ । सल्लाह सबैको आ–आफ्नो किसिमको राम्रेै हुन्थ्यो ।

साथीहरु आफन्तहरु भेट्ने, आउने, फोन गर्ने जस्ता क्रियाकलाप तीव्रसँग चलिरहेको थियो । मैले अबको बाटो कसरी तय गर्ने भन्ने बारेमा सोच्न थालिरहेको थिएँ । साथीहरुले पनि त्यस्तै–त्यस्तै सल्लाह सुझावहरु दिइरहेका थिए ।

बिस्तारै म समाजसंग पुनः जोडिदै गएँ । जीवन महत्वपूर्ण खुड्किला चढ्दै गर्दा कतिपय अवस्थामा नजिकका मान्छेहरु टाढा र टाढाका मान्छेहरु नजिक हुने गर्छन् । समाजको नजरबाट मेरो परिचय बेग्लै भइसकेको थियो । हरेक जसो कार्यक्रममा अतिथिको रुपमा निमन्त्रणाहरु आउँथे ।

विभिन्न बहानामा संस्थाको लागि भनेर चन्दाको आशा राख्नेहरु पनि बिस्तारै आउन थाले । मन राख्नको लागि भए पनि कुनै–कुनै कार्यक्रमहरुमा जानुपर्ने हुन्थ्यो । कतिपय सघ–संगठनहरु सम्मानको लागि निमन्त्रणा पठाइरहेका हुन्थे ।

मलाई यी सबै देखेर अचम्म लागिरहेको हुन्थ्यो ।

एकाएक म भाग्य चिठ्ठा पाउने बित्तिकै सवैतिर पो योग्य भएँ त । एउटा संस्थाले राखेको प्रस्तावमा त मैले मुखै खोल्नु परेको थियो ।

‘तपाईलाई यस वर्षको फलानो पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको छ त्यसकारण फलानो दिनमा हुन गईरहेको कार्यक्रम यहाँलाई सादर निमन्त्रणा छ हजुर’ भनेर एउटा फलानो संस्थाको अध्यक्ष बताउने व्यक्तिको प्रस्तावमा जबाफमा ‘सम्झिनु भएकोमा धेरै धन्यवाद छ तर म आफु, तपाईहरुले दिन लागेको पुरस्कारको लागि कुनै कोणबाट योग्य जस्तो लाग्दैन । त्यसकारण समाजमा धेरैजना योग्य व्यक्तित्वहरु छन् उनीहरुलाई दिदा उचित मुल्यांकन हुन्छ । कुनै पदमा बस्दैमा, करोडौं पैसा कमाउदैमा समाजसेवी ठहरिदैन । त्यसकारण म आज भाग्यले मिलिनियर बनाउँदैमा म आज सबै कुरामा योग्य देख्नु हुन्छ भने । तपाईं गलत सोच्दै हुनुहुन्छ । भोलिको दिनमा यही पैसाको आडमा राम्रो काम गर्न सकेको रहेछु भने खुसीको साथ स्वीकार गरौला।’ भनेर मैले विनम्रतापूर्वक उहाँहरुको प्रस्ताव अस्वीकार गर्ने गरेको थिएँ ।

यसरी नै दिनचर्या बितिरहेको थियो । मैले पनि केही न केही त गर्नै पर्‍यो । सोच्न थालेँ । इन्भेष्टमेन्टको एउटा मेनेजमेनट टिम नै खडा गरेको थिएँ । इन्भेस्टमेन्ट विज्ञहरुसंग परामर्श लिइरहेको थिएँ । विज्ञहरुको परामर्शअनुसार नै आफुले जितेको रकमको २५ प्रतिशत रकम कुनै बालबालिका सम्बन्धि काम गर्ने सामाजिक संथालाई दिने निधो गरेँ ।

ठूलो रकम भएकोले मेरो यो निर्णय पनि विभिन्न मिडियाहरुमा भाइरल नै भयो । कता–कताबाट यो समाचार देशको प्रेसिडेन्टसम्म पनि पुगेछ । एक दिन प्रेजिडेंटको अफिसबाट म्यासेज आयो– ‘तपाईले यतिको ठूलो रकम सामाजिक कामको लागि दान गर्नु भएकोमा प्रेसिडेन्ट स्वयंले धन्यवाद दिनको भोलि ठिक बाह्र बाजे फोन गर्दै हुनुहुन्छ । त्यसकारण तयारी भएर बस्नु होला ।’

म एकछिन फेरि अलमलमा परेँ । एकपछि अर्को के अचम्म भइरहेको छ । मेरो खुशीको सीमा थिएन । फोनमा के बोल्नु पर्ने हो ? कसरी सम्बोधन गर्नुपर्ने हो ? मनमा धेरै कुराहरु खेल्न थाले ।

आफ्नो टिमसंग पनि सल्लाहहरु लिएर तयारीमा लागेँ । उत्साहित भएर प्रेसिडेन्टको फोनको प्रतीक्षामा बसेको थिएँ ।

त्यतिकैमा फोनको रिङ्ग टिरिङ्ग टिरिङ्ग बज्यो । भित्ताको घडी हेर्छु, ठिक्क बाह्र बजेको रहेछ । हत्तपत्त फोन उठाउन जाँदा मेरो हात टेबुलमा ठोकियो । अनि म झसङ्ग झस्किएर बिउँझेँ ।

बिहान उठ्नको लागि मिलाएको अलार्म पो बजिरहेको रहेछ । धत् अहिलेसम्म सपना पो देखिरहेको रहेछु म त । अनि मनमनै हाँस्दै काममा जानको लागि तयारीमा लागेँ ।

एकै पटक आकाशबाट धर्तीमा खस्दा घोर अनौठो लागिरहेथ्यो आफूलाई ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com