रास्वपाले श्रेष्ठको अडियो प्रकरणबारे आज निर्णय गर्ने


प्रकाशित मिति : चैत्र २८, २०७९ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा.ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठबारे आज निर्णय गर्ने भएको हो ।

अडियो टेपबारे छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिले मंगलबार उनको बयान लिएको थियो । बयानपछि समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । समिति सदस्यसमेत रहेको अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार ४ पृष्ठ लामो प्रतिवेदन पार्टी सभापतिलाई बुझाइएको हो ।

बयानका क्रममा सांसद श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेको बताइएको छ । सांसद् श्रेष्ठ र व्यवसायी प्रसाईंबीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ ।

रास्वपाले समितिले बुझाएको प्रतिवेदन र थप कदमका विषयमा छलफल गर्न बिहान ९ बजेपछि बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । अडियो उनको भए/नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com