रसुवागढी नाका आजदेखि पूर्ण रुपमा सञ्चालन


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरी पुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरुङतर्फ पठाइएको छ ।

नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्कनुभएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाका हुँदै रसुवा फर्कनुभएको थियो ।

कोरोना सङ्क्रमणपश्चात् बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिनुभयो । आगामी मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने उहाँले बताउनुभयो । नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरुङ व्यापार सङ्घका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।

रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरुङतर्फ पठाइएको छ । मालसामान आयातका लागि आजै ६३ ट्रक केरुङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।

केरुङका लागि आठ सय ८७ ट्रक पालैपालो पठाइनुभएको छ । कोरोना सङ्क्रमणका कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरी पुल आज बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो ।

नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरुङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com