कांग्रेस दाई-भाउजुको अक्षम गिरोहमा परिणत भएको भन्दै स्वर्णिमद्वारा पार्टी परित्याग


प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार

नेपाली कांग्रेसका नेता तथा अर्थविद् स्वर्णिम वाग्लेले कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । बिहीबार सामाजिक मार्फत वाग्लेले नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘वि.सं. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।’

वाग्लेले कांग्रेस भित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान दिएको उल्लेख गरेका छन् । उनले पछिल्ला वर्षहरुमा काँग्रेस भित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको बताएका छन् ।

‘त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें।’ उनले भनेका छन्-  ‘विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ।’

वाग्लेले जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको उल्लेख गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com