लामिछानेविरूद्धको मुद्दामा अन्तिम सुनुवाइ आजदेखि


प्रकाशित मिति : चैत्र १३, २०७९ सोमबार

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरू हुने भएको छ । जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ सुरू गर्न लागेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेको लामिछानेविरूद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा लामिछानेलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

लामिछानेविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । दफा २१९ को उपदफा (३)को देहाय (घ)मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

लामिछानेविरूद्ध अधिकतम १२ वर्ष जेल सजाय मागदाबी गरिएको हो ।

१७ वर्षीया किशोरीले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com