चेलिबेटी बेचबिखनविरुद्धको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’ (भिडिओ)
प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2023/03/00.jpg?fit=1095%2C492&ssl=1)
हास्यकलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोकलयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा उनलाई लोकगायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।
गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलोपटक प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलिबेटी बेचबिखनको सन्देश दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।
हरिवंशका अनुसार उनले यो गीत निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् । ‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटेल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीवेला एक्कासि काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्याे । त्यसपछि यसले गीतको स्वरूप पाएको हो ।’
गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे–व्रतबन्धतिर उफ्रिउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरू पनि उफ्रिउफ्री नाच्न सक्नुहुनेछ,’ उनले भने । यो गीतको श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।