Follow @khasokhasmag

अहा ! पहिलेको त्यो तीज , कठै ! अहिलेको यो तीज


प्रकाशित मिति : भाद्र १९, २०७३ आईतबार

-गीता खत्री

तीज पर्व बिशेष गरेर पूर्वीय पात्रो अनुसार हरेक वर्ष भाद्र महिनाको शुक्लपक्षको तृतीया तिथिमा पर्दछ । देवी पार्वतीले भगवान शिवको आराधना गरेर शिवलाई पतिको रुपमा पाएको पौराणिक कथासंग जोडिएको छ । पार्वतीले लामो समयसम्म कठिन तपस्या गरेर संसारका मालिक भगवान शिव प्राप्त गर्नुभएको थियो । वास्तवमा देवी पार्वतीले शिव भागवानलाई पतिका रुपमा पाउनका लागि कठिन तपस्या गर्नुका साथै पृथ्वीमा १०८ पटकसम्म जन्म लिनुपरेको थियो । १०७ पटकको जन्म लिँदा पनि उहाँको मनोकामना पूरा हुन सकेन तर १०८ औं पटकको जन्म अवधिको भक्ति र निष्ठाबाट प्रभावित भई भगवान शिवले पार्वतीलाई पत्नीवरण गर्नुभएको भन्ने कुरा धार्मिक ग्रन्थमा पाइन्छ । देवी पार्वतीले आफ्नो तपस्याको उद्देश्य पूरा भए पछि सबै महिला जगतलाई के सम्झाउनु भयो भने यो भाद्र शुक्ल तृतीयाका दिन जो जो शिव पार्वतीको आराधना गर्दछन् उनीहरुले असल जीवनसाथी पाउँदछन् र उनिहरुको वैवाहिक जीवन सुखमय र आनन्ददायी हुनुका साथै चिताएका सबै असल कुराहरु पूरा हुन्छन् ।

नेपाली चाडबाड तथा परम्परामा हुर्केका हामीहरु हरितालिका तीजलाई मात्र तीजका रुपमा मान्ने गरेका छौं तर खास गरी तीज तीन प्रकारका हुने भनेर बताइएको छ ।

क) हरियाली तीज – यो श्रावण महिनाको शुक्ल पक्षमा पर्दछ । यो समय चारैतिर हरियाली छाउने भएर होला महिला दिदीबहिनीहरु हरिया चुरा पोतेका साथै हरियो पहिरन लगाएर शिवपार्वतीको आराधना गर्दछन् । हाम्रो नेपालमा पछिल्लो दशकमा श्रावण महिनामा बोलबम पर्व पनि विशेष रुपमा मनाउन थालिएको छ । महिलाहरुको हरियो रंगको सजावटले भगवान शिवप्रति विशेष भक्तिभाव देखाउँछ भन्ने कथन पनि पाइन्छ ।

ख) कजारी तीज – यो श्रावण कृष्णपक्षको तृतीया तिथिमा पर्दछ । खास गरी आकाशमा छाउने कालो मेघसंग यसलाई दाँजिएको पाइन्छ । यसमा भगवान कृष्णको प्रशंसा गर्दै विभिन्न भजनकीर्तन गर्ने गरिन्छ । मूलतः यो पर्व भारतमा प्रचलन छ । नेपाली समुदायमा भने त्यति प्रचलनमा आएको पाइँदैन ।

ग) हरितालिका तीज – हाल सबै भन्दा बढी प्रचलित हरितालिका तीज पर्व नै हो । हरितालिका दुई शव्दबाट बनेको हो – हरत र आलिका । हरतको अर्थ हरण र आलिकाको अर्थ साथी हो । पौराणिक कालमा भगवान विष्णुले देवी पार्बतीसंग बिबाहको लागि प्रस्ताव गर्न नारदलाई पठाएको र पार्बतीका पिता हिमालय पर्बतले पनि स्वीकृति दिएको तर देवी पार्बतीले भने भगवान शिवलाई मन पराएको । यस्तो अवस्थामा पार्बतीका साथीहरुले पार्बतीलाई भगाएर तीन दिनसम्म लुकाएर राखेका थिए रे ।

यिनै तीन दिनमा देवी पार्वतीले भगवान शिबलाई पाउने आशामा कठोर पूजा आराधना तथा तपस्या गरेर सफल भएकोले सबैले त्यही सफलताको कामना र आशा गर्दै यो व्रत तथा पूजा आराधना गर्ने चलन चलिआएको हो भनिन्छ । त्यसैले यो पर्वलाई हरितालिका भनिएको हो भन्ने परम्परा रहि आएकोछ । भाद्र शुक्ल तृतीया, चतुर्थी र पञ्चमी तिथिहरु गरेर तीन दिन मनाइने हरितालिका तीजको पहिलो दिनलाई “दरखाने” दिनका रुपमा चिनिन्छ । वास्तवमा नेपालको भौगोलिक परिवेस अनुसार बाटोघाटोको असुविधा, अनि विवाह गरेर दिएकी चेलीलाई विभिन्न खोला जङ्घार, पहाड, घुम्ती पार गर्दै मूलतः बुबा, दाइ वा भाइले लिन जाने र मीठामीठा परिकार पकाएर “दर” खुवाउने चलन छ ।

पहिला पहिला तीजमा माइतीबाट बाबुआमा वा दाजुभाइ आएर चेलीलाई लिएर जाने परम्परा थियो भने अहिले माइतीको अलावा साथीभाइले समेत निम्ता गरी बोलाउने वा संघसंस्थाहरुले पनि तीजको कार्यक्रम राखी दर खुवाउने, गीत गाउने, नाच्ने आदिको व्यवस्था गर्न थालिएको छ भने आजको एकदुई दशकपछि अझ नौला कार्यक्रमहरु बन्नेछन् भन्ने आशा गर्न सकिन्छ । हिजोको दिनमा माइती लिन नआएमा छोरीले निकै ठृ्लो गुनासो गर्ने बेला त्यो थियो भने अव माइती लिन नआए पनि त्यती दुखेसो नगर्ने समय आइसकेको छ । पहिले पहिले एक दिन अगाडि मात्र दरखाने गरिन्थ्यो भने आजभोलि एक दुई महिना अगाडिदेखि नै दरखाने चलन आइरहेको पनि देखिन्छ ।

विभिन्न कारणबस कतिपयका माइती लिन आउन नसक्ता चेलीहरुले यसरी बिलौना गर्ने गरेको सुनिन्थ्योः—

वर्ष दिनको तीजमा बाबा लिन आएनन्
वर्ष दिनको तीजमा बाबा लिन आएनन्
साउने झरी झैं रुन्छ मेरो मन्
साउने झरी झैं रुन्छ मेरो मन्

त्यस पछि दोश्रो दिन अर्थात भाद्र शुक्ल चतुर्थी । दिनभरी श्रद्धालु महिला भक्तजनहरु निराहार निर्जल व्रत बस्ने गर्दछन् । यसको अर्थ आफ्नो र सपरिवारको सुखशान्ति तथा दीर्घायुको कामना गर्दै असल पारिवारिक जीवनको चाहनाको अभिव्यक्ति नै हो । व्रतको दिन विशेष गरेर भक्तिका गीतहरु गाउने गरिन्छ । व्रतको दिन महिलाहरु नजिकको मन्दिरमा गएर नाच्दै गाउंदै रमाइलो गर्ने गर्दछन् ।

तीज पर्वको अन्तिम दिनलाई ऋषिपञ्चमी भनेर भनिन्छ । यो दिनमा सबै व्रतालुहरु विहानै विभिन्न खोला, इनार, नदी किनारमा गई नुहाइधुवाइ गरी एक किसिमको जडिबुटी दतिउनले दाँत माझेर कुल्ला गर्ने चलन पनि छ । तीजको अन्तिम दिन महिलाहरु रातो माटो र दतिउनको टुक्राबाट आफ्नो शरीर र मन शुद्ध गरेर जानी नजानी गरेका पापहरुबाट मुक्ति मिल्ने आशा गर्दै बिर्सजन गर्दछन् । त्यस क्रममा गौरीशङ्कर (शिवपार्वती) को तथा सप्तर्षिको पूजागरि गच्छेअनुसारको दानदक्षिणा उपहार दिने चलन छ ।

पञ्चमी सकिएपछि आ—आफ्नो समय, फुर्सद अनुसार माइत जन्मघर आएका चेलीहरु आफ्ना कर्मघर जान्छन् । कतिपयलाई घरको बुहार्तन खट्न नसकेर जन्मघरमा नै बस्न मन हुन्छ तर माइती पक्षले सम्झाइबुझाइ घर पठाउँछन् । अनि चेलीहरुले यसलाई गीतमा उतार्दै भन्छन् –

फकाई फकाई ल्याउँछन् , कोचाई कोचाई खुवाउँछन्
पञ्चमीका भोलिपल्ट रुवाउँदै पठाउँछन्
पञ्चमीका भोलिपल्ट रुवाउँदै पठाउँछन्

तीज नेपाल लगायत भारतको राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड र हरियाना राज्यहरुमा पनि तीज पर्ब मनाइन्छ । खासगरी शुरुमा हिन्दु महिलाहरुले मनाउने चाडपर्ब थियो तर विस्तारै चेतनाको विकास र धार्मिक सहिष्णुताका कारणले प्राय नेपाली सबै समुदायका मानिसहरु सहभागी भएर यसलाई मनाउँछन् । राजस्थानका महिलाहरु हरियो रगंको लुगामा सजिएर गाउंदै र नाच्दै पानीका भगवानको प्राथर्ना गर्दै रमाइलो गर्ने गर्दछन् । आजभोलि भारतको हरियाना राज्यमा बाहेक अरु राज्यहरुमा पनि बिस्तारै यो पर्ब मनाउनेहरुको संख्या कमी हुंदै गएको सुनिन्छ ।

परम्परागत तीजभन्दा आजभोलिको तीजमा बिस्तारै परिवर्तन र परिमार्जन देखिंदै आएको छ । अनिवार्य भन्ने कुरालाई झिकेर मनले मागेको र समाजले चाहेको कुरालाई मात्र अगिंकार गर्न शुरु गरिएको छ । धार्मिक हिसाबले यस प्रकारको सिद्धान्त ठीक हो होइन थाहा भएन तर सामाजिक सुधार भने पक्कै पनि भएको छ । भगवान प्रति मान्छेको आस्था र विश्वास नघटाई समाजमा समय अनुसार सामाजिक परिर्बतन हुनु मानव जगतका लागि ठृ्लो कुरा हो ।

पहिलेका तीजका गीतहरु ईश्वर भक्ति, घर र माइतीको कुरा र मायापिरतीका बारेमा हुन्थे भने आज आएर “हाई मेरो फरिया, हाई मेरो फरिया, झनमाथि सारयो झन तल झर्छ …., मैना मादल ठोक न मादल ठोक……, चोली छोट्याई देउ तीजमा लाउनु छ ….., आई थी साली, लाई थी नी कुरा…., पोइल जान पाउँ शिब पोइल जान पाउँ… जस्ता गीतहरुले रेडियो घन्किन्छ, एफ एम रन्किन्छ, टेलिभिजन भरिन्छन् ।” आजको समाजले यिनै गीतहरुलाई महत्व र स्थान दिएको छ ।
मैले भने पुरानै धारमा बसेर यसपालीको तीजमा नयां गीत सिर्जना गरेँ यसरी र स्वरकी धनी बहिनी कोमल ओलीले यसलाई अति सुन्दर ढँगले गाएर सजिब बनाइ दिनु भएकोछ –

झुम्केफुली बरीलाइ ….
आमा यसपालीको तीजमा लाए मैले नी
आमा साथीसंग मिलेर गाँए नी ।

हरितालिका तीजको एउटा महत्वपूर्ण पाटो भनेको अभिव्यक्ति स्वतन्त्रतालाई गीतका माध्यमबाट उपयोग गर्नु रहेको थियो । आम नेपालीहरुमा राजनीतिक चेतना नआइसकेको र पितृसत्तात्मक नियन्त्रित सामाजिक परिपाटीमा नेपाली चेलीहरुले आँफूमाथि श्रीमान र सासू आदिबाट भएका अप्ठ्याराहरुलाई तीजका गीतबाट अभिव्यक्त गरिन्थे । त्यस्तै आफ्ना यौन कुण्ठा र ठट्टाहरु विवाहोत्सवमा गाइने रत्यौली आदिमा अभिव्यक्त हुने गर्दथे । विस्तारै नारी शिक्षा र परिवारमा आफ्नो समान हिस्सा जनाउनका लागि पनि तीजका गीत प्रयोगमा आउँथे –

हातमा घडी, काँधमा रेडियो
उठ सासू दैलो पोत पढ्न हिंडियो

त्यस्तै पढ्न नपाएको र श्रीमानले भनेको कुरा आँफूले नबुझेको सन्दर्भलाई गीतमा यसरी व्यक्त गरिन्थे –

स्वामीज्यूले पानी मागे अंग्रेजीमा वाटर
नबुझेर दिएँ राजै काँचो कटर, नबुझेर दिएँ राजै काँचो कटर

त्यस्तै अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गरिएको, खुम्च्याइएको वा पूर्ण वर्जित गरिएको एक दलीय तानाशाही व्यवस्थामा हरितालिका तीज आफ्ना राजनैतिक आस्था र अभिव्यक्तिलाई पस्किने अवसर पनि बन्ने गर्दथ्यो । तर आज व्यवस्था फेरिएको छ, सूचना र प्रविधिले छलाङ्ग मारेको अवस्थामा यो चाडको व्यापकता निश्चित समुदायमा सीमित नभई एक राष्ट्रीय चाडको रुपमा देशविदेशमा फैलिंदै गएको छ ।

भृ्गोलको सीमा नाघेर आफन्तहरुबाट टाढिन परेको बेदना तथा उनीहरु संगको मायामोहको कोसेली संधै आफ्नो छातिमा लिएर बसेका प्रबासी महिलाहरु बेदना र सम्झनाका गीतहरु लेखेर पनि आप्mनो रहर मेटाउछन् । प्रवासमा यस्ता सिर्जनहरु प्रशस्तै देखिन थालेकाछन् । जस्तै निम्न पक्तिहरुलाई हेरौं –

“तीजको सम्झना आयो बरीलै,
यो बर्ष दिनको चाड हाम्रो चेलीलाई रमाइलो,
पठाइदेउ आमा दाजुलाई लिन केही दिन अघि हो,
आउदो रहेछ विदेशमा पनि त्यो दिनको सम्झना,
चेलीको लागि यो ठृ्लो चाड सक्दैनौं विर्सन”

सन् १९९० यता बिदेश पस्ने नेपाली महिलाहरुको संख्या निकै बढी रहेको छ । जो जुन देशमा गएर बसेका भए पनि आफ्नो धर्म संस्कृतिलाई चटक्क बिर्सन सक्दैनन् । समयले भ्याएसम्म आप्mनो धर्म, संस्कृति र आफ्नोपनलाई बचाउने प्रयासमा जुटीरहेकै हुन्छन् । समय र परिस्थितिले गर्दा अनिवार्य रुपमा पालन गर्नु पर्ने नित्य कर्म र पूजापाठ पुरानै परम्परागत रुपमा सम्पन्न गर्न नसके पनि बाचा पु¥याउने काम भने यी बिदेशीएका महिला दिदीबहिनीहरुले पुरा गरिरहेकै हुन्छन् । त्यती मात्र नभएर आफ्ना नयां सन्तानहरुमा पनि यो परम्परा रही रहोस भन्ने चाहना गर्दै सिकाउने काम पनि गरिरहकै छन् जुन एउटा उत्साहजनक कुरा पनि हो ।

प्रवासमा बसेका हामी जस्ता हजारौ दिदीबहिनीहरु तीज आयो भन्दै दिदीबहिनीहरुलाई एक ठाउंमा भेला गराई विभिन्न परिकारका खाना खाई, रातो लुगा, रातै चुरापोतेले झपक्क भएर, तीजको गीत गाएर धुमधामसंग नाच्ने र रमाइलो गर्ने प्रचलन बढीरहेको छ । टेक्नोलोजी बढेको जमानामा कस्ले कति राम्रो तीजको कार्यक्रम गरेको रहेछ भनेर हेर्न र देख्न युटुबमा डाउनलोड गरिदियो । संसारभरका मान्छेले हेर्न थाल्छन्, कस्को कार्यक्रमले कति नम्बर कमायो पनि थाहा हुने भयो । त्यसमा कतिले राम्रो कमेन्ट गरिदिन्छन्, आयोकजले सुधार गर्ने मौका पनि पाउँछन् । विगत केही बर्षदेखि हरेक देशमा बस्ने नेपालीहरुले तीजको कार्यक्रम गर्दै युटुबमा राख्न थालेका छन् । समय अनुसार परम्परागत विषयमा परिर्बतन आउनु आवश्यक छ तर परिर्बतनको नाउमा विकृति र अश्लिलतालाई प्रसय कसैले पनि नदिउन भन्ने मेरो सबै आमा दिदिबहिनी र दाजुभाइहरु सबैमा हार्दिन अनुरोध पनि छ ।

यसरी नेपाली नारी जातीको महान चाड हरितालिका तीज धार्मिक रुपमा प्रचलनमा आई यसले विभिन्न सामाजिक प्रयोजनलाई पूरा गर्दै हाल सात समुन्द्रपारी एशियाका विभिन्न खाडी मुलुकहरु, अफ्रिकाका विभिन्न मुलुक केन्या, इथियोपिया, साउथ अफ्रिका, अष्ट्रेलिया, यूरोप हुँदै उत्तर अमेरिकासम्म फैलिएको छ र सबैमा आत्मीयता साटासाट गर्ने एउटा भरपर्दो माध्यम बन्न पुगेको छ भन्नुमा अत्युक्ति नहोला ।

खत्री न्युयोर्क निवासी साहित्यकार हुनुहुन्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com