उपराष्ट्रपति निर्वाचन : किरियापुत्रीद्वारा मतदान


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।

पिता लोकराजको निधनमा आशोच बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो । उहाँ आजै दिउँसो पोखरा फर्कँदै हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”

 २२० मत खस्यो
सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ ।

सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता हुनुहुन्छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com