क्रिकेट खेलाडी झा र शेखलाई मधेस सरकारले २ लाख पुरस्कार दिने


प्रकाशित मिति : चैत्र २, २०७९ बिहीबार

मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख पुरस्कार दिने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेश प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

दुवैजना मधेशबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही रु दुई लाख प्रोत्साहनस्वरुप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिनुभयो ।

सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गर्नुभएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com