नेपाली टोलीलाई हौसला दिन क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार

नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो ।

लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उहाँले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।

प्रधानमन्त्री दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको छ ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाली खेलाडीलाई जितको शुभकामना दिनुभएको छ । “हामी आशावादी छौँ, हाम्रो टीम उच्च मनोबलका साथ खेल्नेछ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्नेछ । विजयीको शुभकामना टीम नेपाल”, उहाँले भन्नुभएको छ ।

साथै, पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना । राष्ट्र तपाईंहरुको साथमा छ । म तपाईंहरुको साथमा छु ।”

 

युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै
आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आजको खेलमा करण केसीको ठाउँमा गुलशन झालाई समावेश गरेको छ । नेपाली टोलीमा झासँगै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । विभिन्न सात राष्ट सहभागी शृङ्खलाको यो अन्तिम खेल हो ।

सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।

नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com