ताजा तथ्यांक: नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ता १ करोड बढी, छैन उचित नियामक कानून


प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार

नेपालमा सामाजिक सञ्जाल प्रयोकर्ताहरु कम्तीमा पनि १ करोडभन्दा बढी रहेको विभिन्न तथ्यांकले देखाएको छ । फेबु्रअरीमा सार्वजनिक एक तथ्यांक अनुशार नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु १३ दशमलव ७० मिलियन अर्थात् झण्डै १ करोड ३७ लाख रहेको रिपोर्ट सार्वजनिक भएको छ । कुल जनसंख्याको ४५ दशमलव ७ प्रतिशतले सामाजिक सञ्जाल चलाउने रिपोर्ट डाटारिपोर्टलले सार्वजनिक गरेको हो ।

यद्यपी एउटा व्यक्तिले एउटाभन्दा धेरै डिभाइसमा सामाजिक सञ्जाल प्रयोग गर्ने वा एउटै सामाजिक सञ्जालमा एउटाभन्दा धेरै एकाउन्ट पनि प्रयोग गर्नसक्ने भएकाले यो संख्यामा थोरै तलमाथि हुनसक्ने जनाइएको छ । किनभने नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुको संख्या भने ११ दशमलव ५१ मिलियन अर्थात झण्डै १ करोड १५ लाखको हाराहारीमा रहेको छ भने अधिकांशले सामाजिक सञ्जालको प्रयोग गर्छन् ।

केपियोस तथ्यांक अनुशार २०२१ को तुलनामा सन् २०२२ मा सामाजिक सञ्जाल चलाउने नेपालीहरुको संख्या ५ दशमलव ४ प्रतिशत अर्थात् ७ लाखले बढेको देखिएको छ । नेपालमा फेसबुक प्रयोगकर्ताहरु १ करोड २३ लाख रहेको फेसबुकको विज्ञापन तथ्यांकबाट देखिएको छ । जसमा एउटाभन्दा धेरै डिभाइस प्रयोग गर्नेहरु र एउटाभन्दा धेरै एकाउन्ट प्रयोग गर्नेहरुसमेत हुने भएकाले वास्तविक प्रयोगकर्ताको जनसंख्या भने केही कम हुनसक्छ । किनभने कुल इन्टरनेट प्रयोगकर्ताको १ सय ७ प्रतिशतले फेसबुक चलाएको देखिएको छ ।

नेपालको कुल जनसंख्याको ४१ दशमलव १ प्रतिशतले फेसबुक चलाउने गरेको तथ्यांक रहेको छ । फेसबुकले १३ बर्षभन्दा कम उमेरको व्यक्तिलाई एकाउन्ट खोल्न नदिने भएकाले १३ बर्षभन्दा माथिको जनसंख्याकोमात्र हिसाब गर्ने हो भने नेपालमा उक्त जनसंख्याको ५३ दशमलव ७ प्रतिशतले फेसबुक चलाउने गरेको डाटारिपोर्टलको तथ्याक रहेको छ । नेपालका फेसबुक प्रयोगकर्ताहरुमध्ये ४२ प्रतिशत महिला र ५८ प्रतिशत पुरुष रहेका छन् ।

इन्स्टाग्रामका प्रयोगकर्ताहरुभने नेपालमा २३ लाखमात्र रहेको तथ्यांक छ । फेसबुक मेसेन्जर चलाउनेहरु ९६ लाख रहेको तथ्यांक रहेको छ । ट्वीटर प्रयोगकर्ताहरु नेपालमा ५ लाखको हाराहारीमा रहेको तथ्यांक रहेको छ । २०२१ को एउटा तथ्याकमा नेपालमा टिकटक प्रयोगकर्ताहरु १५ लाख रहेको देखिएको थियो । तर अहिले यो संख्यामा उल्लेख्य बृद्धि भएको अनुमान गरिएको छ ।

सन् २०२२ को तथ्यांक अनुशार नेपालमा ४ करोड फोनहरु सेलुलर मोबाइल कनेक्सनमा दर्ता रहेका छन् । एउटा व्यक्ति एउटाभन्दा धेरै फोनहरु चलाउने भएकाले यो संख्या धेरै देखिन आएको हो । व्यक्तिगत र कामका प्रयोजनका लागि समेत फरक फरक फोन र नम्बरहरु प्रयोग गरिने भएकाले पनि यो संख्या धेरै देखिएको हो ।

सामाजिक सञ्जालको व्यापक प्रयोग हुने र प्रोपोगाण्डा मच्याउन समेत सामाजिक सञ्जालको प्रयोग भइरहेको सन्दर्भमा नेपालमा यसको नियमनका लागि उचित कानुन भने छैन । विगतमा सामाजिक सञ्जाल नियमनका कानुनहरु ल्याउने प्रयास भएपनि त्यसको विरोध भएपछि त्यस्तो कानुन आउन सकेको थिएन ।

नेपालमा सामाजिक सञ्जाल मार्फत हुने कसूरमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ र दफा ४८ अन्तर्गत कारबाही हुँदै आएको छ । त्यस्तै सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ संशोधन गर्दै डिजिटल माध्यमबाट सामग्री प्रसारण गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । तर सामाजिक सञ्जालको नियमनका लागि उचित कानुन भने छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com