अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरि बुढामगर सगरमाथा आरोहणको नजिक


प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार

अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरिबहादुर बुढामगर विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम चरणमा पुगेका छन् । यसपटक सपना पूरा भएको खण्डमा घुंडामाथिको भाग गुमाएर पनि सगरमाथा आरोहण गर्ने उनी पहिलो व्यक्ति हुनेछन् । घुंडामुनीको भाग नभएका दुई व्यक्तिले यसअघि सगरमाथा आरोहण गरिसकेका छन् ।

सन् २०१० मा अफगानिस्तानमा तालिबानको एम्बुसमा परि दुवै खुट्टा गुमाएका पूर्व गोर्खा बुढामगर आफूसंग भएको आँट र विश्वासका कारण सगरमाथा आरोहण गर्न लागेको बताउंछन् ।

उनले फ्रान्सको मोँ ब्लाँ, नेपालको मेरापिक, स्कट्ल्यान्डको बेन नेभिसजस्ता हिमाल चढिसकेका छन् । स्कीइङ, गल्फिङ, साइक्लिङ र क्लाइम्बिङमा लागेपछि आफ्नो आत्मविश्वास बढेको बताउने बुढा मगर हाल दैनिक एक घण्टा स्विमिङ गर्दै आएका छन् ।

अन्य आरोहीको तुलनामा तीन गुणा बढी समय लगाएर आरोहण गर्न लागेका उनले स्पाइक्ससहितको विशेष डिजाइन गरिएको प्रोस्थेटिक्सको सहायता लिनेछन् । सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनले बीबीसीलाई बताएका छन् ।

सन् २०१७ मा सरकारले सुरक्षा कारण देखाएर लगाएको प्रतिबन्धका कारण चिन्तित बनेका बुढा मगरले अन्य पर्वतारोहीसँग मिलेर भएपनि आरोहण गर्न सक्ने प्रमाणित गरे ।

बेलायतको केन्ट बस्दै आएका ४३ वर्षीय बुढा मगरका तीन सन्तान छन् । सानै उमेरदेखि हिमाल चढ्ने उनको सपना थियो । विभिन्न कारण अधुरो रहेको सपना अब पूरा गर्ने प्रण लिएर अघि बढेका हुन् मगर ।

दुईवटा खुट्टा र डेढ दशक समय ब्रिटिश सरकारलाई दिएपनि बाँकी समय नेपालका लागि दिने चाहना बोकेका बुढा मगर भन्छन् ‘लक्ष्य पूरा गरेरै छाड्नुपर्छ, बीचमै छाड्न हुन्न भन्ने मेरो मान्यता छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com