ढल्दैछन् चौताराका वर, पीपल


प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार

झट्ट बुझ्दा चौतारी भनेपछि शीतलता दिने छहारी बुझिन्छ । वर, पीपल र स्वामीको बोट वरिपरि चार कुना मिलाइ ढुङ्गा बिछ्याएर बनाइएको ठाउँलाई सामान्यतःचौतारो वा चौतारी भन्ने गरिएको पाइन्छ । धार्मिक, सामाजिक र पर्यावरणीय दृष्टिकोणले चौतारीलाई महत्वपूर्ण मान्ने गरिन्छ ।

पछिल्ला दिनमा भौतिक विकास र प्रविधिको उच्चतम प्रयोगले गर्दा सहरमा चौतारी भेट्न कठिन भइसकेको छ । पहिले जस्तो चौतारीमा भेला भएर खबर थाहा पाउनुपर्ने बाध्यता छैन । गाउँका घरघरमा मोटर बाटो पुग्नु अनि उकाली ओराली गर्दै बजारसम्म धाउनुपर्ने बाध्यता नरहनुले ‘चौतारो संस्कृति’ हराउँदै गएको छ भने बाँकी चौतारासमेत भग्नावशेष र सुनसान बनेका छन् ।

“पहिले हाम्रो समयमा गाउँका र देशविदेशका कुरा थाहा पाउन चौतारीमा पुग्नुपर्दथ्यो, त्यहाँ गाउँका जान्ने सुन्नेहरू भेला भएर खबर सुनाउने गर्थे”, कुश्माका ७० वर्षीय कुलप्रसाद श्रेष्ठले भन्नुभयो, “उहिले चौतारीमै नाच्ने बजाउने गरिन्थ्यो, मान्छेहरू सबै चौतारीमा लहरै बसेर हेर्ने गर्थे, पछि गाउँमा मोटर पु¥याउने, विद्यालय बनाउने भन्दै सबै चौतारी ढालियो ।”

केही समयअघि फलेवास नगरपालिकाले ‘ग्रिन फलेवास क्लिन फलेवास’ भन्दै घर वरपरका ठूला रुख मात्र काटेन, चौतारीका वर, पीपल र स्वामीका रुख पनि कटान गरेको थियो । “गाउँमा मोटर बाटो लैजानलाई बटुवाले थकाइ बिसाउने शीतल छहारीका चौतारी त मासिएका नै थिए”, कार्कीनेटाका याम परियारले भन्नुभयो, “बाँदर धपाउने, घरमा घाम भित्र्याउने जस्ता नाममा चौतारीका वर, पीपल र स्वामीका बोट फँडानी भइरहेका छन् ।”

शिवालयका पूर्वप्रधानपञ्च लोकनाथ आचार्यले अहिलेको कुश्मा बजारका धेरै ठाउँमा चौतारीले भरिएको कुरा सुनाउनुभयो । “बाघचाल खेल्ने, समय बिताउने, थकान मार्ने काम त चौतारीमा हुन्थ्यो नै”, उहाँले पुराना दिन सम्झँदै भन्नुभयो, “पञ्चायतमा आएका सानातिना मुद्दामामिला पनि चौतारीमा बसेर मिलाउने गथ्र्यौं, कटुवालले फलानो चौतारीमा आउनुहोला भनेर बालाउने गरिन्थ्यो, चौतारीमा भद्रभलादमीदेखि सर्वसाधारण जम्मा भएर गल्ती गर्नेलाई पीपल छुवाएपछि साँचो बकी हाल्थे, न्याय निसाफ दिने ती चौतारी सबै विकासका नाममा नासिए ।”

स्थानीय मीना पौडेलले परम्परादेखि पुज्दै आएको र हिन्दू धर्मालम्बीको आस्था बनेका बोटको संरक्षणतर्फ लाग्नुपर्नेमा सम्बन्धित निकाय नलाग्नु दुःखद् भएको बताउनुभयो ।

डिभिजन वन कार्यालय पर्वतले चौतारी संरक्षण र पोखरी निर्माणमा काम गर्दै आएको भए पनि त्यो पर्याप्त देखिएको छैन । वर, पीपल र स्वामीजस्ता बोटको महत्वका बारेमा जनस्तरबाट चासो र चिन्ता कम हुँदा संरक्षण अभियान फलदायी हुन नसकेको कार्यालयको बुझाइ छ । “स्थानीय जनप्रतिनिधिले समस्या देखाएर वडाको निर्णय भन्दै काट्नुहुन्छ, तर त्यो वन ऐनविपरीत छ, कति पटक त हामीले रोकेका पनि छौँ”, कार्यालयका सूचना अधिकारी अरुणा पौडेलले भन्नुभयो, “पर्यावरणीय दृष्टिकोणले पिपल ज्यादै महत्वपूर्ण मानिनुका साथै यसले २४ घन्टा नै अक्सिजन छाड्ने भएकाले मानव स्वास्थ्यमा प्रभाव पार्ने फलदायी वृक्ष हो ।”

उहाँका अनुसार खेतबारी नजिकै वर, पीपलका रुख हुने हो भने मूल नसुक्ने हुँदा जमिन बाह्रै महिना रसिलो हुने गर्छ । चराचुरुङ्गीको बास हुने हुँदा बाली नष्ट गर्ने हानिकारक किरा चराले खाइदिनेदेखि बाँदरलाई चाहिने आवश्यक खानकी बोटमै प्राप्त हुने भएकाले बालीनाली नियन्त्रणमा मद्दत पुग्ने वन डिभिजन कार्यालयको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com