विदेश जान नपाउने सर्तविरूद्ध सर्वोच्चमा सन्दीप लामिछानेको निवेदनमा आज पेसी


प्रकाशित मिति : फाल्गुन ११, २०७९ बिहीबार

क्रिकेटर सन्दीप लामिछानेले दुबइमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसिहत सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आजका लागि पेसी तोकिएको छ । दुवैतर्फका निवेदनमा शुक्रबारका लागि पेसी तोकिएको हो ।

लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोज घिमिरेले दुबइमा हुन लागेको खेल खेल्न जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्याधिक भएकाले घटाउन तथा दोषी ठहर नहुँदै गोपनीयता उल्लंघन गरी अपराधीका रूपमा चित्रित गरिएको त्यसलाई रोक्न माग गरिएको छ ।

नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्ला अदालत को आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिह गरेको थियो ।

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौँ बाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो । उच्चको विदेश जान नपाउने सर्तविरूद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् ।

उच्च अदालतको लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरूद्ध सरकार पक्षले निवेदन दायर गरेको छ । उच्चको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को विपरीत रहेको निवेदनमा उल्लेख छ । सरका पक्षबाट परेको निवेदनमा लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने माग गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com