गैरकानुनी रूपमा अमेरिकी सीमा पार गर्नेहरूलाई एसाइलम नदिने नयाँ नियम सार्वजनिक


प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार

बाइडेन प्रशासनले मंगलबार आफ्नो सबैभन्दा कडा सीमा नियन्त्रण उपायहरू घोषणा गरेको छ । बाइडेन प्रशासनले ल्याएको प्रस्तावित नियम अनुशार अवैध रूपमा सीमा पार गर्ने वा अमेरिका आउने बाटोमा ट्रान्जिट पर्ने अन्य राष्ट्रहरूमा एसाइलमका लागि आवेदन दिन असफल हुनेहरुलाई कारवाही गरिनेछ ।

बिहिबार प्रकाशित हुने प्रस्तावि नियमको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

अमेरिकी अध्यागमन कानून अन्तर्गत, उत्पीडनबाट भागेका आप्रवासीहरूले अमेरिकी भूमिमा जसरी आइपुगे पनि शरणको अनुरोध गर्न सक्छन्। आगामी मे महिनामा लागु हुनसक्ने र २ बर्षपछि म्याद सकिने बाइडेनको नियमले अवैध रूपमा प्रवेश गर्नेहरुलाई शरणका लागि अयोग्य बनाउनेछ ।

यो नियम अन्तरगत सरकारलाई सीमा पार गर्नेहरूलाई देशनिकाला गर्न सजिलो बनाउनेछ । यो नियमले सम्भावित रूपमा अमेरिकाको अध्यागमन अदालतहरूमा सुनुवाइ हुन बाँकी रहेको मुद्दाको संख्यालाई कम गर्नेछ ।

होमल्यान्ड सेक्युरिटी र जस्टिस डिपार्टमेन्टले संयुक्त रूपमा ल्याएको नीतिको उद्देश्य बाइडेनले अर्को वर्ष चुनावमा भाग लिएको खण्डमा सम्भावित जोखिमलाई कम गर्ने रहेको छ। पदभार ग्रहण गरेपछि बाइडेनले ट्रम्प प्रशासनका धेरै अध्यागमन नीतिहरु उल्टाउने र हटाउने काम गरेका थिए । तर सिमानामा थप व्यवस्थित प्रणाली सिर्जना गर्ने राष्ट्रपतिको वाचालाई सीमा क्षेत्रमा बारम्बार देखिने अराजकता दृश्यहरू र अवैध सिमा पार गर्नेहरुको उच्च संख्याले असफल बनाएको छ।

ह्वाइट हाउसले महामारीको जनस्वास्थ्य आपतकालको म्याद मे ११ मा सकिने तय गरेको छ । यसले आपतकालीन सीमा प्रतिबन्धहरू हटाउनेछ । कोरोनाकालिन नियमले अधिकारीहरूलाई मार्च २०२० देखि शरण खोज्नेहरू सहित २० लाख भन्दा बढी आप्रवासीहरूलाई द्रुत रूपमा निष्कासन गर्न अनुमति दिएको थियो । प्रस्तावित नियमले बाइडेन प्रशासनलाई अर्को सम्भावित आप्रवासी वृद्धिको सामना गर्न उपाय दिनेछ।

प्रस्ताव अनुसार नयाँ नियमले आप्रवासीहरूलाई अमेरिकामा कानुनी, सुरक्षित र व्यवस्थित बाटोहरू प्रयोग गर्न वा उनीहरूले यात्रा गर्ने देशहरूमा शरण वा अन्य सुरक्षा खोज्न प्रोत्साहित गर्नेछ । जसले मानव तस्करी कम गर्ने अपेक्षा गरिएको छ ।

एसाइलम खोज्नेहरुले मेक्सिको वा अन्य राष्ट्रमा सुरक्षित शरण अस्वीकार भएको देखाएर अमेरिकामा शरणका लागि योग्यता प्रमाणित गर्नसक्नेछन् । प्रस्तावित नियम बिहिबार फेडरल रजिष्टरमा प्रकाशित हुनेछ भने ३० दिन कमेन्ट अवधि रहनेछ । टाइटल ४२ को रूपमा चिनिने महामारीकालिन सार्वजनिक स्वास्थ्य प्रतिबन्धहरूको मे ११ म्याद सकिनु अघि यो नियम लागू हुने सम्भावना छ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com