पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2023/02/KB-KTM-RE3A8960copy.jpg?fit=2400%2C1600&ssl=1)
महाशिवरात्रिका अवसरमा काठमाडौँ आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुने भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो । मन्दिर उद्घाटनपछि उहाँले प्रवचनसमेत गर्नुहुने कार्यक्रम रहेको शङ्कराचार्य मठका मठाधीश डा रमणानन्द स्वामीले राससलाई जानकारी दिनुभयो ।
कोषको निमन्त्रणमा महाशिवरात्रिमा विशिष्ट साधुका रूपमा बिहीबार राजधानी आउनुभएका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी शङ्कराचार्य मठमा प्रवचन गर्नुभएको थियो । प्रवचनका क्रममा वैदिक सनातन मतमा आधारित समाज निर्माणका लागि सबै लाग्नुपर्ने अवस्था आएको भन्नुहुँदै शङ्कराचार्य निश्चलानन्द स्वामीले नेपालमा कल्याणकारी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
नास्तिक मतका अनुयायी बढ्न थालेकाले आध्यात्मिक ज्ञानका लागि आफू नेपालमा प्रवचन गर्न आएको उल्लेख गर्नुहुँदै उहाँले पृथ्वीको रचना भएदेखि नै वैदिक सनातन मतका आधारमा सृष्टि चलेको भनाइ राख्नुभयो । आज साँझ शङ्कराचार्य निश्चलानन्द सरस्वतीले नेपाल–भारतमैत्री धर्मशालामा जिज्ञासुका प्रश्नको उत्तर दिनुहुने कार्यक्रम रहेको छ ।