भारतका एकजना सचिव आउँदा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरू सबै लम्पसार परे : चित्रबहादुर केसी


प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

‘एक–दुई दिन पहिले छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारी उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न मानिसहरूको बीचमा भेटघाटको अभियान नै चलाउनुभयो । राष्ट्र सानो–ठूलो हुन सक्छ । निश्चय पनि नेपालको तुलनामा भारतको भूगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ । तर सार्वाभौमसत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो–ठूलो हुँदैन‚’ केसीले भने ।

सांसद केसीले भारतका सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको भन्दै गुनासो गरे । केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमा नै भूमिका खेलेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबार बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकूल भूमिका खेलिरहेको बताए । उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि पुगिरहेको आरोप लगाए ।

‘सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ तर नेपालबाट पूर्वप्रधानमन्त्रीहरू वा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूले, खास गरेर उपल्लो तहका शासकहरूलाई भेट्नै सक्दैनन् । उहाँहरू निराश भएर फर्किनुपर्छ । तर‚ छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू आफूलाई असाध्यै जान्नेसुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरूको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानबारे उहाँहरूलाई अलिकति लाज लाग्दैन‚’ उनले भने ।

नेपालमा राष्ट्रपति कसलाई बनाउने भन्ने अहिलेको चर्चाको विषय भएको भन्दै उनले अगाडि भने‚ ‘त्यस सम्बन्धमा शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावलाई अप्रत्यक्ष रुपले हेर्ने गर्दथे । अहिले त प्रत्यक्ष रुपमै आफ्नो देशको अनुकूल मान्छेलाई राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान‚ राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल पुर्‍याइरहेको छ ।’

विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउनेतर्फ लाग्दा यसले राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल पुग्ने सांसद केसीले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com