हिउँ कुर्दै पर्यटन व्यवसायी


प्रकाशित मिति : माघ २८, २०७९ शनिबार

धनबहादुर गुरुङ/ यहाँको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ । यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो । तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन् । हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि यहाँका पर्यटन व्यवसायी चिन्तित छन् ।

मादी गाउँपालिका–२ क्रपुडाँडामा गएको वर्ष दैनिक २०/२५ जना पर्यटक हिउँ खेल्न पुग्थे । अहिले मुस्किलले तीन/चार जनामात्र पुग्ने गरेका छन् । पर्यटकीय गाउँ ताङतिङको शिरान क्रपुडाँडा हिउँ खेल्नेका लागि सबैभन्दा नजिकको गन्तव्य हो । अहिलेसम्म हिउँ नपर्दा पर्यटकको उपस्थिति कम भएको क्रपुडाँडाका पर्यटन व्यवसायी हिमाल गुरुङले जानकारी दिनुभयो । यहाँ चार वटा होटल छन् ।

“अघिल्लो वर्ष यही समयमा यहाँका होटलले थेग्नै नसक्ने गरी पाहुना आएकामा यो वर्ष दैनिक तीन/चार जना मात्र आएका छन्, यो सङ्ख्या निकै कम हो”, गुरुङले भन्नुभयो । उहाँका अनुसार यो वर्ष पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ । “क्रपुमा पर्यटकको चहलपहल बढी हुने नै हिउँ पर्ने समयमा हो”, पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “अघिल्लो वर्ष दसैँतिहारपश्चात् ग्रुप आउन सुरु हुन्थ्यो तर यो मुस्किलले तीन/चार जना आउने गरेका छन् ।”

पर्यटकीय गाउँ सिक्लेसमा पनि हिउँ नपर्दा पर्यटक नपुगेको स्थानीय बेल गुरुङले बताउनुभयो । “हिउँ नपरेपछि पर्यटक सङ्ख्या घटेको छ । दैनिक दैनिक एक सयभन्दा बढी पर्यटक आउने गरेकमा अहिले दैनिक २०/२५ जना पाहुना आउने गरेका छन्”, उहाँले भन्नुभयो । सिक्लेससँगै हुगुगोठ, कपुचे, कोरीलगायत हिउँ पर्ने स्थानमा पनि पर्यटक घटेकाले व्यवसायी चिन्तित भएका छन् ।

पानी र हिउँ नपरेपछि सिक्लेसमा खेतीपातीमा समस्या भएको गुरुङले बताउनुभयो । “पानी त बुधबार अलिअलि प¥यो तर हिउँ पर्न सकेन् । जसले गर्दा पर्यटन व्यवसाय धरापमा परेको छ । खेती गर्न पनि समस्या छ”, गुरुङले भन्नुभयो । उहाँका अनुसार पानी र हिउँ नपर्दा आलु, गहुँ, जौ, आलु, तोरी, हरियो मटरकोशा, टमाटर, सागलगायत बाली सप्रिन पाएका छैनन ।

जिल्लाको मर्दी हिमाल पदयात्रामा पर्यटकको चहलपहल घटेपछि यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित छन् । हिउँ खेल्न जाने पर्यटक पदयात्रामा नआएका लो क्पाम्प गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक अमृत तामाङले बताउनुभयो । “पयर्टकका लागि यो अफ सिजन हो, अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो”, तामाङले भन्नुभयो, “यो पटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन् । व्यवसाय धान्न गाह्रो छ ।” उहाँका अनुसार हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दुई सयभन्दा बढी पर्यटक पुग्ने गर्थे । तर, यो सिजनमा मुस्किलले ४०/५० जना पर्यटन जाने गरेका छन् ।

यहाँको अर्को पर्यटकीय स्थल घान्द्रुक गाउँमा पनि हिउँ नपर्दा पर्यटकको सङ्ख्यामा कमी आएको छ । घान्द्रुक पर्यटन व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार पर्यटकका लागि अफ सिजन भएकाले पर्यटक कम गएको हुन् । “अलि बढी चिसो भए घान्द्रुकमै हिउँ पर्छ तर माथिल्लो भेग देउराली, टाढापानीमा हिउँ परेपछि त्यहाँ जाने धेरै हुन्थे”, अध्यक्ष गुरुङले भन्नुभयो, “यो पटक के भएको हो खै ? हिउँ पनि परेन, पर्यटक पनि त्यति छैनन् ।”

कास्कीको कोरी, कपुचे, हुगुगोठ, सिक्लेस, क्रपुडाँडा, ताङतिङ, घान्द्रुकसँगै हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत गाउँ तथा डाँडामा भारी हिउँ पर्छ । तर, यो वर्ष पानी नपरेपछि यी स्थानमा हिउँ पर्न सकेको छैन । पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन भएको वन प्राविधिक समाज कास्कीका अध्यक्ष केदार पौडेलले बताउनुभयो । “संसारभर तापक्रम वृद्धि हुँदै गएको छ । ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियसमा तापक्रम बढेको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “यसले गर्दा पानी प-यो भने पनि एक दर्को मज्जाले पर्ने अनि पर्दैन । सुक्खा खडेरी पर्ने तथा हिम नदी सुक्ने अवस्था आएको छ ।”

लामो समय वन तथा वातावरणका क्षेत्रमा काम गर्नुभएका पौडेलले यस्तै भइरहे अबको एक सय वर्षमा अहिले भइरहेका हिमनदी करिब आधा सुक्ने बताउनुभयो । कार्बनडाइअक्साइडको मात्रा बढेकाले यस्तो अवस्था भएकाले सरोकारवाला निकाय सजग हुनुपर्ने उहाँको भनाइ थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com