कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन नहुने योजना आयोगको अध्ययन


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

bokeh photography of person carrying soil

राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाएको छ । योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९’ ले कृषिउपज उत्पादनका लागि विदेशी लगानी ल्याउन नहुने सुझाव दिएको हो । यद्यपि, भण्डारण, प्रशोधन र बजारीकरणका लागि भने विदेशी लगानी ल्याउन सकिने उक्त प्रतिवेदनको सिफारिस छ ।

“कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीको आवश्यकता देखिँदैन । यो क्षेत्रका निम्ति नेपालका बैंकहरूले पर्याप्त ऋण दिइरहेको अवस्था छ र सरकारले पनि सोको उत्थानका लागि निरन्तर रुपमा कर छुट र अन्य नीति लाभ दिइरहेको छ”, उक्त प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, कृषिको प्राथमिक क्षेत्रमा उद्यम गर्ने कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएकाले त्यस्ता कम्पनी विदेशी लगानीको खोजीमा नरहेको कुरा देखाएको पनि प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा कृषि क्षेत्रमा विदेशी लगानीको पहल गर्ने कुरा तर्कसङ्गत नहुने उक्त अध्ययनको निष्कर्ष छ तर, कृषि उत्पादनमा मूल्य अभिवृद्धि (भ्यालु एड) गर्ने गरी प्रशोधन, भण्डारण र बजारीकरणका क्षेत्रमा भने विदेशी लगानी ल्याउन सकिने अध्ययनले देखाएको छ ।

“शीत भण्डारण (कोल्ड स्टोरेज), क्यानिङ, प्रोसेसिङ, मिल आदि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आवश्यक छ । ती क्षेत्रमा आउने प्रत्यक्ष विदेशी लगानीलाई नियमन गर्न एक छुट्टै नियमावलीको आवश्यकता देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

कृषिको दोस्रो (सेकेन्डरी) क्षेत्रमा आउने विदेशी लगानीलाई नियमन गर्न बनाइने नियमावलीले कृषिको कुन क्षेत्रमा त्यस्तो लगानीलाई अनुमति भएको र नभएको भनी स्पष्टरूपमा लेखिएको हुनुपर्ने सिफारिस यो अध्ययनले गरेको छ । “नियमावलीले प्रत्यक्ष विदेशी लगानीअन्तर्गत प्रयोग हुन आउने विदेशी भूमि माथिको हक र स्वामित्वको विषयलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ । नियमावलीले किसानको अधिकार र लाभको कुरा पनि समेट्नुपर्छ ।” प्रतिवेदनमा भनिएको छ ।

पछिल्ला वर्षहरुमा नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको छ । करिब ६६ प्रतिशत जनसङ्ख्या कृषिमा प्रत्यक्षरूपमा संलग्न भए पनि यस क्षेत्रबाट चाहिए जति उत्पादन नभइरहेको र नेपालले पर्याप्त लाभ लिन नसकिरहेको प्रतिवेदनमा उल्लेख छ । नेपालको संविधानमा रहेका राज्यका नीतिअन्तर्गत धारा ५१ (ज) ले ‘कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यताअनुरुप जलवायु र माटो अनुकूलको खाद्यान्न उत्पादन, आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्था गर्ने’ भनी कृषि क्षेत्रमा लगानीसम्बन्धी व्यवस्था गरेको तर कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीको आवश्यकता छ वा छैन भन्नेबारेको विषय अहिले पनि विवादित छ ।

सरकारले २०७७ पुसमा कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन दिने निर्णय गरेको थियो तर सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले २०७७ माघमा अल्पकालीन आदेश दिएको थियो । यो मुद्दाको अन्तिम फैसला भने अझै आइसकेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com