भिसा सकिएको ४८ महिनाभित्र विना अन्तरवार्ता भिजिटर भिसा नविकरण सुविधा अनिश्चितकाल थप


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

भिजिटर भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिका लागि विना अन्तरवार्ता भिसा नविकरण गर्ने सुविधा अनिश्चिकालका लागि थप गरिएको छ । अर्को सुचना जारी नहुँदासम्मका लागि यस्तो थप गरिएको अमेरिकी अमेरिकी विदेश मन्त्रालयबाट जारी सुचनामा जनाइएको छ ।

यस अगाडि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि यो सुविधा प्रदान गरिएकोमा अब अनिश्चितकालका लागि लम्बाइएको हो । सुरुमा यो सुविधा सन् २०२१ को डिसेम्बर ३१ सम्मका लागि तय गरिएको थियो । यो सुविधा अन्तरगत विगतमा अमेरिकाको भिजिटर भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्छन् ।

कोरोना महामारी अगाडि भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाउँदै लगिएको थियो । अमेरिका अन्य कैयन श्रेणीका भिसामा समेत अन्तरवार्ता छुटको व्यवस्था गरेको छ ।

विना अन्तरवार्ता भिसा प्राप्त गर्न आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्छ । दुईप्रति अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर ६ वटामध्र्ये एउटा कागजात डेलिभरी सेन्टरमा आफ्ना कागजातहरु बुझाउनुपर्छ । पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिन्छ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्दैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो लगायतका कागजातहरु पेश गर्नुपर्छ । फोटो विगतको भिसामा प्रयोग भएको भन्दा फरक हुनुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com