युएससीआईएसले अमेरिकी नागरिकता परीक्षामा गर्न लागेको परिवर्तनबारे जान्नुपर्ने ७ कुराहरु


प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार

युएससीआईएसले अमेरिकी नागरिकता परीक्षा प्रणाली नयाँ तरिकाको बनाउने घोषणा गरेको छ । यसबारे नागरिकता आवेदकहरुले जान्नुपर्ने केही कुराहरु खसोखासले बुंदागत रुपमा तयार पारेको छ ।

१, अमेरिकी नागरिकताको नयाँ परीक्षा प्रणाली आवेदकलाई अहिलेको तुलनामा अझ सहज बनाउनका लागि ल्याउन लागिएको हो । कुन कुन विषयमा सुधार गर्ने भन्ने निर्धारण युएससीआईएस परीक्षण अवधि पछि गर्नेछ ।

२, युएससीआईएसले नयाँ परीक्षा प्रणाली झण्डै २ बर्षपछि लागु हुने अपेक्षा गरेको छ । अर्थात् यो तुरुन्तै लागु हुने नभई सन् २०२४ को अन्त्यतिर लागु हुने अपेक्षा गरिएको छ । त्यसैले अहिले नागरिकताका लागि आवेदन दिएकाहरुले पुरानौ प्रणालीबाट परीक्षा दिनुपर्नेछ ।

३, युएससीआईएसले नागरिकताको अन्तरवार्ताका क्रममा हुने परीक्षामा आवेदकको अँग्रेजीको बुझाई जाँच्न प्रयोग गरिने लेख्ने र पढ्ने भागको मूल्यांकन गर्नेछैन । किनभने पढ्ने र लेख्ने भाग पहिले नै मानकीकृत भइसकेको युएससीआईएसको विश्वास छ । पहिले कै प्रणाली आवेदकको पढ्ने र लेख्ने क्षमताको मूल्यांकन गर्न प्रयाप्त रहेको युएससीआईएसको विश्वास छ ।

४, अहिले युएससीआईएसमा नागरिकता अन्तरवार्ता दिने क्रममा आवेदकको बोल्ने क्षमताको परीक्षण गर्न युएससीआईएसका अधिकारीले नागरिकता आवेदनबाट प्रश्नहरु टिपेर सोध्ने गर्छन् । अन्तरवार्ताका क्रममा अधिकारीले आवेदकले प्रश्नको जवाफ दिएको आधारमा आवेदकको अँग्रेजी बोल्ने क्षमताको मूल्यांकन गर्छन् । तर अब युएससीआईएसले यसमा परिवर्तन गरेर अँग्रेजी बोल्ने क्षमताको परीक्षण गर्नका लागि नागरिकता आवेदन एन ४०० बाट नभई छुट्टै प्रश्नावलीहरु तयार गर्न खोजेको छ ।

५, अहिले युएससीआईएसमा नागरिकता अन्तरवार्ता दिने क्रममा आवेदकको अँग्रेजी बुझ्ने क्षमताको पनि परीक्षण गर्छन् । युएससीआईएसका अधिकारीले नागरिकता अन्तरवार्ताका क्रममा विभिन्न प्रश्नहरु सोध्ने क्रममा आवेदकलाई त्यसलाई बुझेको वा नबुझेको अवस्थाको मूल्यांकन गरेर अधिकारीले आवेदकको अँग्रेजी बुझ्ने क्षमताको मूल्यांकन गर्छन् । आवेदकले अँग्रेजी बुझन् सके नसकेको पूर्ण निर्धारण गर्नका लागि अधिकारीले बारम्बार एउटै प्रश्न दोहोराउन वा विभिन्न तरिकाले पनि सोध्न सक्छन् । आवेदकले अँग्रेजी बुझेको प्रणाणित गर्न सही जवाफ दिन आवश्यक हुदैन । प्रश्न बुझे पुग्छ । तर अब युएससीआईएसले यसमा परिवर्तन गरेर अँग्रेजी बुझ्ने क्षमताको परीक्षण गर्नका लागि छुट्टै प्रश्नावलीहरु वा प्रणाली तयार गर्न खोजेको छ ।

६, त्यस्तै सिभिक्स परीक्षाका क्रममा आवेदकलाई एकसयवटा प्रश्नमध्येबाट १० वटा प्रश्न सोधिन्छ भने आवेदकले परीक्षा उत्तिर्ण गर्नका लागि ६ वटाको जवाफ मिलाउनुपर्छ । युएससीआईएसको प्रणालीले अटोमेटिक रुपमा ती प्रश्नहरु छनौट गर्छ । ६ वटा प्रश्नको सही जवाफ आएमा सबै १० प्रश्न सोध्न आवश्यक पर्दैन । युएससीआईएसले यसमा अझ सहज बनाउन आवेदकलाई प्रश्नसँगै जवाफका विकल्पहरु पनि दिने र सही विकल्प छनौट गर्न दिने प्रणालीबारे विचार गरिरहेको छ । उदाहरणका लागि कुनै प्रश्न ट्याबलेटमा सोधिसकेपछि त्यसका सम्भावित जवाफहरु पनि त्यहाँ दिइनेछ, आवेदकले सही जवाफमा टिक लगाउन सक्नेछन् । परीक्षणपछि आन्तरिक र वाह्य विशेषज्ञहरुले मूल्यांकनहरु पेश गरेपछि कस्तो प्रणाली अपनाइने भन्नेबारे युएससीआर्ईसले फेडरल सुचनामार्फत प्रष्ट पार्नेछ ।

७, यो परीक्षणमा वयस्क शिक्षा कक्षामा भर्ना भएका करिब १५ सय व्यक्ति सहभागी हुनेछन् । समुदायमा आधारित स्वयम्सेवी संस्थाहरूको सहयोगमा परीक्षण अवधि सञ्चालन गरिनेछ । परीक्षण सहभागिता जनाउदा युएससीआईएसले प्राप्त गर्ने कुनै पनि नागरिकता आवेदनहरूलाई असर गर्दैन । त्यसैले आवेदकहरु ढुक्क भएर परीक्षणमा सहभागी हुनसक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com