अमेरिकामा रियल आईडी बनाउनुपर्ने म्याद २ बर्ष थप, नयाँ डेडलाइन २०२५ मे ७


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान पूर्णरुपमा लागु गर्ने म्याद २ बर्ष थपेर सन् २०२५ को मे ७ बनाएको छ ।  अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय सुविधाहरूमा पहुँच गर्न ड्राइभर लाइसेन्स वा स्टेट आईडी अद्यावधिक गर्नुपर्ने अवधि २ बर्ष थपिएको हो ।  यस अगाडि मे ३, २०२३ को डेडलाइन तोकिएको थियो ।

अब  २०२५ को मे ७ पछि मात्र  अमेरिकामा विमान चढ्न वा संघीय भवनहरुमा प्रवेश गर्नका लागि स्टारसहितको रियल आईडी आवश्यक पर्नेछ ।

सन् २००५ को मे ११ मा तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यु बुसले हस्ताक्षर गरेको रियल आईडी ऐन सुरुमा २००८ देखि पूर्णरुपमा लागु गर्ने योजना बनाइएको थियो । तर त्यसपछि डेडलाइन कैयनपटक विस्तार गरिएको छ । पछिल्लोपटक कोरोना महामारीको कारण देखाउदै डेडलाइन विस्तार गरिएको हो ।

रियल आईडी ऐन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको प्रतिक्रियामा पारित गरिएको थियो। राज्यका परिचयपत्र संघीय सरकारले स्वीकार गर्नका लागि राज्यले जारी गरेको ड्राइभर लाइसेन्स र स्टेट आईडीका लागि राज्यहरूले समान मापदण्डहरू अपनाउन र लागू गर्न आवश्यक हुन्छ । यी उपायहरू पहिचान जालसाजी र आतंकवादलाई कम गर्ने उद्देश्यले गरिएको हो ।

केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, यसको मतलब यदि तपाईंले आफ्नो इजाजतपत्र पाउनुभयो, वा हालसालै नवीकरण गर्नुभयो भने, यो सम्भवतः रियल आईडी हुनसक्छ । रियल आईडी भएन नभएको थाहा पाउन तपाईले आफ्नो आईडीमा स्टार भए नभएको हेनुपर्छ । न्युयोर्कमा अमेरिकी नागरिकलाई अमेरिकाको झण्डा भएको आईडी समेत जारी गरिन्छ ।

कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।

तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिइसकेपछि उक्तदिन जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।

त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।

सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com