दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन


प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार

black and white gas stove

झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् ।

दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले बताउनुभयो ।

कुहिने र नकुहिने फोहर बेग्ला–बेग्लै सङ्कलन गरेर प्रशोधनका लागि ल्याइने गरेको बताउनुभयो । कुहिने फोहरलाई लेदो बनाएर प्रशोधन गरी ग्यास र प्राङ्गरिक मलका रूपमा प्रयोग गर्न सकिने कम्पनीका अर्का सञ्चालक विमल खतिवडाले बताउनुभयो ।

कम्पनीका प्राविधिक विजय पाण्डेका अनुसार कुहिने फोहर ग्यास बन्नका लागि १४ देखि २१ दिनसम्म लाग्छ ।

दैनिक १० हजार किलो प्राङ्गरिक मल र सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सक्ने प्लान्टको क्षमता छ । दमक क्षेत्रमा दैनिक १५ टन फोहर सङ्कलन हुने गरेको छ । यो परियोजना विसं २०७६ माघ १० गते सम्झौता भएर काम अघि बढेको थियो । सम्झौताअनुसार २० वर्षपछि यो योजना दमक नगरपालिकाकै मातहतमा आउने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com