अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

तपाईले अमेरिकी नागरिकताको सपथग्रहण गरिसकेपछि अमेरिकी नागरिक हुनुहुन्छ । त्यसैले सपथग्रहण अगाडिसम्म तपाईसँग ग्रिनकार्ड नै हुन्छ । नागरिकताका लागि तपाईको अन्तरवार्ता भइसकेको भएतापनि तपाईले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्म तपाईको हैसियत ग्रिनकार्ड होल्डर नै हो ।

अमेरिकी नागरिकताका लागि दिइएको आवेदन पेन्डिङ रहेको अवस्थामा तपाईले ग्रिनकार्ड बोकेर अमेरिकाबाहिर यात्रा गर्न सक्नुहुन्छ तर तपाईको यात्राले अमेरिकामा निरन्तर उपस्थीतिको नियमलाई उल्लंघन गर्नु हुँदैन । अमेरिकी नागरिकताका लागि योग्य हुनका लागि तपाई ५ बर्षको अवधिमा ३० महिना अमेरिकामा बसेको हुनुपर्छ । उक्त ३० महिने नियमको उल्लंघन हुनेगरी यात्रा गरेमा भने नागरिकताको आवेदन अस्वीकृत हुनसक्छ ।

तर तपाई आवेदन पेन्डिङ रहेकोमा अवस्थामा अमेरिकाबाहिर यात्रा गर्दा तपाई अमेरिकाबाहिर रहेको अवस्थामा बायोमेट्रिक, अन्तरवार्ता वा सपथग्रहणको अप्वाइन्टमेन्ट पत्र आउनसक्ने भएकाले त्यसका लागि तपाईले इमेलअलर्ट, टेक्स्ट अलर्ट वा विश्वासिलो व्यक्तिलाई मेलबक्स चेक गर्न लगाउनु उपयुक्त हुन्छ । तपाईले बायोमेट्रिक वा अन्तरवार्ताको अप्वाइन्टमेन्ट छुटाउनुभएको खण्डमा तपाईको आवेदन प्रकृयामा ढिलाई हुने भएकाले यी अप्वाइन्टमेन्ट नछुट्नेगरी यात्रा गर्नु उपयुक्त हुन्छ ।

बायोमेट्रिक अप्वाइन्टमेन्ट पछिमात्र अमेरिकाबाहिरको यात्रा गर्नु उपयुक्त हुन्छ । कुनै कुनै सर्भिस सेन्टरहरुले वाक इन अप्वाइन्टमेन्ट समेत स्वीकार गर्नसक्ने भएकाले यदि तपाईको सर्भिस सेन्टरले वाक ईन अप्वाइन्टमेन्ट स्वीकार गरेमा तपाई त्यहाँ गएर औंठाछाप दिएर अमेरिकाबाहिर यात्रा गर्न सक्नुहुन्छ । अमेरिकी नागरिकताको सपथग्रहण नगर्दासम्म तपाई ग्रिनकार्डमा अमेरिका बाहिर यात्रा गर्न सक्नुहुन्छ ।

सकभर अमेरिकी नागरिकताको प्रकृया चलिरहँदा अमेरिकाबाहिर यात्रा नगर्नु नै उपयुक्त हुने कानुनविदहरुको सुझाव छ । तर यात्रा गर्नैपरेमा अन्तरवार्ताको बेलामा र औंठाछाप दिने बेलामा भने अमेरिका आउनसक्नेगरी यात्रा गर्नुपर्छ ।

सामान्यतया अमेरिकी नागरिकताका लागि आवेदन दिइसकेपछि केहीसाताभित्रै तपाईलाई औठाछापका लागि बोलाइन्छ । तर त्यसपछि नागरिकताको अन्तरवार्ताका लागि केहीसमय कुर्नुपर्ने हुनसक्छ । अन्तरवार्ता उत्तिर्ण गरेपछि तपाईलाई सपथग्रहण समारोहमा बोलाइन्छ । सपथग्रहण समारोहमा ग्रिनकार्ड बुझाइने भएकाले सपथग्रहणपछि र अमेरिकी पासपोर्ट प्राप्त नगर्दासम्मको अवधिमा अमेरिकाबाहिर यात्रा गर्नमा कठिनायी हुनसक्छ । यो समयमा आपतकालिन यात्रा गर्नुपरेमा आपतकालिन रुपमा अमेरिकी पासपोर्ट प्राप्त गर्न पनि सकिन्छ ।

याद राख्नुहोला, यदि तपाई ५ बर्षको अवधिमा ३० महिना अमेरिकाबाहिर बसिसक्नुभएको छ भने तपाईले नागरिकता आवेदन पेन्डिङ रहेको अवस्थामा यात्रा गर्दा तपाईको आवेदन अस्वीकृत हुनसक्ने खतरा रहन्छ ।

यी सामान्य जानकारीमात्र हुन् । कानुनी सल्लाहका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com