भिसा प्रक्रिया पारदर्शी बनाउन अमेरिकाको नयाँ टुल, अप्वाइन्टमेन्ट पाउन कहाँ कति समय?


प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार

भिसा प्रक्रियामा अझ बढी पारदर्शिताका लागि अमेरिकी विदेश मन्त्रालयले वेबसाइटमा नयाँ टुल थपेको छ । जनताले दूतावास र वाणिज्य दूतावासहरूमा अप्वाइन्टमेन्ट पर्खने समयहरू हेर्न र तुलना गर्न सकुन् भन्ने उद्देश्य नयाँ टुल ल्याइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

यो पेजमा गएर अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा अन्तर्वार्ता अप्वाइन्टमेन्ट प्राप्त गर्नको लागि अनुमानित पर्खने समयको सहजै तुलना गर्न सकिन्छ । यद्यपी यो तालिका साप्ताहिक रूपमा परिवर्तन हुन सक्छ ।

तालिका हेरेर आवेदकले कुनै पनि अमेरिकी दूतावासमा भिसा आवेदन दिन सक्छन् । बैंककमा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउने अवधि ३ दिनमात्र रहेको छ, बैंकक यात्रा गर्नसक्ने नेपालीहरुका लागि उचित विकल्प हुनसक्छ । त्यस्तै बेइजिंगमा पनि २ दिनमा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ ।

जर्मनीको बर्नमा ४६ दिनमा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ । त्यस्तै थाइल्याण्डको च्यांग माईमा पनि ७ दिनमा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ । हंगकंगमा पनि २ दिनमा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई क्वालालम्पुर यात्रा गर्न सक्नुहुन्छ भने त्यहाँ ४४ दिनमा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ । तपाई मेलबर्नमा हुनुहुन्छ भने ६३ दिनमा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ । तर पर्थमा २८ दिनमा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ ।

कहाँ कहाँ कति दिनमा भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ भन्ने हेर्न यहाँ क्लीक गर्नुहोला ।

यदि तपाईलाई भिजिटर भिसामा तत्काल अमेरिका आउनुपर्ने कुनै काम छ तर दूतावास वा कन्सुलेटटमा भिजिटर भिसाको अप्वाइन्टमेन्ट उपलब्ध छैन भने तपाईले विभिन्न उपायहरु अपनाउन सक्नुहुनेछ ।

विना अन्तरवार्ता भिसा नविकरण

भिजिटर भिसा सकिएको ४८ महिना ननाघेकाहरुले विना अन्तरवार्ता भिसा नविकरण गर्न सक्नेछन् । यो सुविधा सन् २०२२ को डिसेम्बर ३१ सम्म कायम छ भने त्यसपछि यो अवधि थपिने नथपिने निश्चित छैन । त्यसैले तपाईले पूरानो भिसा सन् २०१८ को अक्टोबरपछिमात्र एक्सपायर भएको हो भने भिसा नविकरणका लागि शीघ्र आवेदन दिनुहोला ।

यो सुविधा अन्तरगत विगतमा अमेरिकाको गैरआप्रवासी भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्छन् । पहिले भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाउँदै लगिएको थियो ।

त्यस्तै पहिले कुनै पनि प्रकारको भिसा लिएकाहरुलाई विना अन्तरवार्ता सन् २०२२ को डिसेम्बर ३१ सम्म विद्यार्थी भिसा उपलब्ध गराइने छ । एफ, एम र जे भिसा आवेदकहरुले विगतमा कुनै पनि प्रकारको भिसा प्राप्त गरेको भएमा विना अन्तरवार्ता सन् २०२२ को डिसेम्बर ३१ सम्म भिसा प्राप्त गर्नसक्नेछन् ।

शीघ्र अप्वाइन्टमेन्टको अनुरोध

भिजिटर भिसा अप्वाइन्टमेन्ट पाउन अमेरिकी दूतावास काठमाडौंमा औषतमा एकबर्ष कुर्नुपर्ने अवस्था रहेको छ ।

यो अवस्थामा तपाईले शीघ्र अप्वाइन्टमेन्टको अनुरोध गर्न सक्नुहुनेछ । पहिले अनलाइन एकाउन्टमार्फत उपलब्ध कुनै अप्वाइन्टमेन्ट लिइसकेपछि शीघ्र अप्वाइन्टमेन्टका लागि अनुरोध गर्नसक्ने विकल्प छनौट गरेर उचित कागजात अपलोड गरेर अनुरोध गर्न सकिनेछ ।

दूतावासले आपतकालिन अवस्थाका लागि अमेरिका जानुपर्नेहरुका लागि पनि भिजिटर भिसा अन्तरवार्ताका अप्वाइन्टहरु दिइरहेको छ । तर गम्भिर विरामी भएका आफन्तलाई भेट्न वा पारिवारिक आपतकालिन अवस्थामा सघाउन जानेहरुका लागि प्राथमिकता दिइएको छ ।

त्यस्तै व्यक्ति भिजिटर भिसामा अमेरिकामा नआएको खण्डमा अमेरिकी कम्पनीलाई उल्लेख्य घाटा हुने अवस्थाबारे लिखित अनुरोध आएमा दूतावासले शीघ्र अप्वाइन्टमेन्ट उपलब्ध गराउँदै आएको छ । तर यो अवस्थामा उक्त अमेरिकी कम्पनीले आफूलाई कसरी घाटा हुन्छ भन्नेबारे खुलाएर दूतावासलाई पत्र लेख्नुपर्छ ।

त्यस्तै भिसा अन्तरवार्ता छुटमार्फत नविकरणका लागि आवेदन दिएका तर अन्तरवार्ता छुट नपाई भिसा अन्तरवार्ताको अप्वाइन्ट आवश्यक भएकाहरुलाई पनि प्राथमिकता दिने गरिएको छ । दूतावासले केही भिसा आवेदनका सन्दर्भमा अन्तरवार्ता आवश्यक पर्ने भन्दै भिसा नविकरण गर्न अस्वीकार गरेको थियो । त्यस्ता आवेदकले भिसा अन्तरवार्ता तय गर्नसक्छन् ।

बेला बेलामा चेक गर्नुहोस्

केही भिसा अप्वाइन्टका स्लटहरु बेलाबेलामा खोलिने भएकाले बीचको अवधिमा पनि अप्वाइन्टमेन्ट लिन सकिन्छ । तर भाग्यमानीलेमात्र त्यस्तो अप्वाइन्टमेन्ट पाउन सफल हुन्छन् । किनभने त्यस्ता अप्वाइन्टमेन्टहरु निकै थोरै हुन्छन् र छिट्टै सकिन्छन् ।

दूतावासले बेला बेलामा अप्वाइन्टमेन्ट उपलब्ध भए नभएको चेक गर्न सुझाव दिएको छ । अप्वाइन्टमेन्टका स्लटहरु छिट्टै सकिने भएकाले दैनिक रुपमा अप्वाइन्टमेन्ट उपलब्ध भए नभएको हेर्न सुझाव दिएका दिइएको छ ।

सामान्तया नेपाली समय अनुशार विहान ५ बजेपछि वा बेलुका ५ बजेपछि केही अप्वाइन्टहरु स्लटहरु उपलब्ध हुने गरेको भिसा आवेदकहरुको अनुभव छ । पहिले नै भिसा अप्वाइन्टमेन्ट लिएका तर पछि उक्त अप्वाइन्टमेन्टमा जान असमर्थ भएकाहरुले अप्वाइन्टमेन्ट छाडेपछि पनि नयाँ आवेदकका लागि उपलब्ध हुने गरेको छ ।

दूतावास वा कन्सुलेटलाई इमेलमार्फत अनुरोध गर्नुहोस्

आवेदक वा आवेकलाई निमन्त्रण पठाउने कम्पनीका तर्फबाट दूतावास वा कन्सुलेटलाई इमेलमार्फत अनुरोध गरेर पनि शीघ्र अप्वाइन्टमेन्ट पाउनसक्ने सम्भावना रहन्छ । यसरी अनुरोध गर्दा तपाई भौतिक रुपमा नै किन अमेरिकामा उपस्थीत हुन जरुरी छ भन्ने खुलाउनुपर्छ । साथै सिमित व्यक्तिलाईमात्र भौतिक रुपमा उपस्थीति हुनका लागि कोटा रहेको प्रकृतिको कार्यक्रम हुनुपर्छ ।

उदाहरणका लागि कुनै महत्वपूर्ण कार्यक्रम वा तालिम छ एवं उक्त तालिम वा कार्यक्रम एउटा दुर्लभ अवशर हो भने तपाईलाई दूतावासले शीघ्र अप्वाइन्टमेन्ट दिनसक्छ । तर त्यसका लागि उक्त कुरा खुलाएर आयोजकका तर्फबाट वा तपाईलाई कार्यक्रम तथा तालिममा पठाउने संस्था वा कम्पनीका तर्फबाट इमेल लेख्नुपर्छ । तर उक्त तालिम ३ महिनाभन्दा कम अवधिको हुनुपर्छ ।

नजिकको अर्को दूतावासमा आवेदन

यो उपाय नेपालीहरुले पहिले नै अपनाएका थिए । तर अहिले अमेरिकी अमेरिकी विदेश मन्त्रालयले आवेदकलाई यस्तो गर्न औपचारिक रुपमा नै सुझाव दिएको छ । कैयन नेपालीहरुले भारतमा रहेको दूतावास वा कन्सुलेटमा भिसा आवेदन दिएर भिसा प्राप्त गरेका थिए । तर अहिले भारतमा नेपालको तुलनामा झन् चर्को ब्याकलग रहेको छ ।

आफू बसेको देशमा रहेको अमेरिकी दूतावास वा कन्सुलेटमा अमेरिकाको भिसाका लागि अप्वाइन्टमेन्ट उपलब्ध नभएको खण्डमा अर्को देशमा गएर समेत भिसाका लागि आवेदन दिन सकिने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । अर्को कुनै दूतावास वा कन्सुलेटमा भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट उपलब्ध भएको खण्डमा त्यही आवेदन दिन अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको हो ।

विदेश मन्त्रालयले भनेको छ -‘हामी यात्रा गर्न सक्ने भिसा आवेदकलाई भिसा अप्वाइन्टमेन्टका लागि प्रतिक्षा अवधि छोटो भएका अरु दूतावास वा वाणिज्य दूतावासमा आवेदन दिनका लागि विचार गर्न प्रोत्साहन गर्दछौं । जहाँ अपोइन्टमेन्टहरू उपलब्ध छन्, त्यो दूतावास वा कन्सुलेट तपाईको गृह देश भन्दा बाहिर भएतापनि आवेदन दिनको लागि कुनै बाधा हुनेछैन ।’

खासगरी भिजिटर लगायतका गैर आप्रवासी भिसाका लागि आवेदन दिन चाहनेहरुले अन्य देशको अमेरिकी दूतावास वा कन्सुलेटमा गएर भिसाका लागि अन्तरवार्ता दिन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com