अब अध्यागमन आवेदन दिनेलाई युएससीआईएसका १३ सुझाव, के के गर्नु हुँदैन?


प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएस धेरैभन्दा धेरै इलेक्ट्रोनिक भइरहँदा युएससीआईएसले कागजी रुपमा आएका आवेदन र कागजातहरुपनि स्क्यान गरेर इलेक्ट्रोनिक डाटाबेस प्रणालीहरूमा अपलोड गर्दै आएको छ । स्क्यानमा हुने ढिलाइबाट बच्न र स्क्यानिङ दक्षता सुधार गर्न युएससीआईएसले कागजीरुपमा फाइल गर्ने आवेदकहरुलाई १३ वटा सुझाव दिएको छ ।

आवेदकले आवेदन र कागजात पठाउँदा पंच गरेर प्वाल नपार्न, स्टीच नलगाउन, पेपर क्लिप वा बाइन्डर क्लिप प्रयोग नगर्न तथा कागजातहरू एक अर्कामा जोडेर नपठाउन सुझाव दिइएको छ । त्यस्तै फाइलिङसंग पासपोर्ट फोटो अनुरोध गरिएको खण्डमा बाहेक प्रमाणिक प्रयोजनका लागि ४x६ इन्चभन्दा सानो फोटो वा कागजातहरू समावेश नगर्न तथा बरु यी वस्तुहरूको फोटोकपीहरू प्रदान गर्न सुझाव दिइएको छ ।

आवेदन दिंदा इलेक्ट्रोनिक चिप्स र ब्याट्रीहरू, साङ्गीतिक ग्रिटिंग्स कार्डहरू, क्यासेट टेपहरू, सीडीरोमहरू, डीभिडीहरू, खेलौनाहरू, एक्शन फिगरहरू, वा थम्ब ड्राइभहरू जस्ता कुनै पनि गैर कागज सामग्रीहरू समावेश नगर्न सुझाव दिइएको छ । युएससीआईएसले यस प्रकारका सामग्रीहरू स्वीकार नगर्ने यद्यपि यी वस्तुहरूको फोटो वा फोटोकपीहरू स्वीकार गर्ने जनाएको छ ।

त्यस्तै बाइन्डिङ गरिएका वा स्पाइरल तार तथा प्लास्टिकसँग बाँधिएका फारम वा कुनै पनि कागजातहरू पेश नगर्न युएससीआईएसको सुझाव छ ।
फोटो एल्बम, स्क्र्यापबुक, बाइन्डर, वा ग्रिटिंग्स कार्डहरू प्रयोग गरेर प्रमाण पेश नगर्न युएससीआइएसको सुझाव छ ।

कागजातहरु फोल्ड नगर्न, कागजातमा स्टीकी नोटहरु चप्काएर नराख्न, घुसाउन मिल्ने ट्याब डिभाइडरहरू प्रयोग नगर्न, फर्महरु रंगीन कागजमा प्रिन्ट नगर्न युएससीआईएसले सुझाव दिएको छ । फारम निर्देशन वा नियमहरू द्वारा आवश्यक नभएसम्म एउटै कागजात वा प्रमाणको एक भन्दा बढी प्रतिलिपि पेश नगर्न भनिएको छ ।

यदि आवेदकलाई पहिलेको आवेदनको कपी स्पष्ट संकेत हुनेगरी प्रत्येक पृष्ठको शीर्षमा कपी लेख्न सुझाव दिइएएको छ । जन्म प्रमाणपत्र, विवाह प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, राहदानी, नागरिकता प्रमाणपत्र जस्ता कागजातको ओरिजिनल नपठाउन र फोटोकपीमात्र पठाउन युएससीआईएसको सुझाव छ । तर आवेदनको निर्देशिकामा कुनै कागजात ओरिजिनल पठाउन भनिएको छ वा युएससीआईएसले ओरिजिनल कागजातका लागि अनुरोध गरेको छ भने जुन कागाजत ओरिजिनल मागेको हो, त्यो ओरिजिनल नै पठाउनुपर्छ ।

यी सुझावहरु पालना गरेको खण्डमा आवेदकका आवेदनहरु प्रभावकारीरुपमा प्रकृयामा लैजाने युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com