सेप्टेम्बर ८ अघि प्राथमिकता मिति हुने कमदक्ष कामदारले डिसेम्बरमा पनि ग्रिनकार्ड फाइल गर्न पाउने


प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार

सेप्टेम्बर ८ अघि प्राथमिकता मिति हुने कम दक्षता हुने रोजगारमा आधारित तेश्रो श्रेणीका अन्उय कामदारले डिसेम्बरमा पनि ग्रिनकार्ड फाइल गर्न पाउने भएका छन् । झण्डै साढे ३ बर्षदेखि ग्रिनकार्ड फाइल गर्न प्रतिक्षा गरिरहेका उनीहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ५८५ फाइल गर्न र त्यसका आधारमा वर्क परमिट, एड्भान्स परोल लगायतका डकुमेन्टहरु प्राप्त गर्नसक्ने गरी भिसा बुलेटिनमा व्यवस्था गरिएकोमा यो व्यवस्था नोभेम्बर हुदै डिसेम्बरमा पनि कायम गरिएको छ ।

सेप्टेम्बरमा मे ८, २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन दिनसकिने अवस्था रहेकोमा अक्टोबर, नोभेम्बर हुँदै डिसेम्बरमा पनि सन् २०२२ को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन दिनसकिनेगरी भिसा बुलेटिन जारी भएको हो । सोही भिसा बुलेटिनलाई स्वीकार्दै युएससीआईएसले पनि डिसेम्बरमा सन् २०२२ को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएका कम दक्ष तेश्रो श्रेणीका अन्य कामदारले ग्रिनकार्ड आवेदन दिनसक्ने जनाएको छ ।

रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा अमेरिकामा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ । तर अब उनीहरुलाई केही राहत भएको छ ।

२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् ।

अब उनीहरुले ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

अमेरिका बाहिर हुने तेश्रो श्रेणीका अन्य कामदारको सन्दर्भमा पनि सेप्टेम्बर ८, २०२२ अगाडि फाइल गरेकाहरुको भिसा प्रकृया नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसा बुलेटिन अनुशार डिसेम्बरका लागि १ जुन २०२० अगाडि फाइल गरेकाहरुलेमात्र भिसा पाउनसक्नेछन् ।

डिसेम्बरका लागि रोजगारमा आधारित दोश्रो श्रेणीका लागि भने केही ब्याकलग कायम भएको छ । नोभेम्बरमा भिसा करेन्ट रहेकोमा डिसेम्बरमा १ डिसेम्बर २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अर्थात् डिसेम्बरमा रोजगारमा आधारित दोश्रो श्रेणीका लागि आई १४० का साथमा आई ४८५ फाइल गर्न नपाइने भएको छ ।

रोजगारमा आधारित चौथो श्रेणीको ग्रिनकार्डका लागि पनि डिसेम्बरमा भिसा करेन्ट रहेको छैन । नोभेम्बरमा सबैका लागि करेन्ट रहेकोमा डिसेम्बरमा भने सन् २०२२ को जुन २२ अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । त्यस्तै निश्चित धार्मिक कामदारका सन्दर्भमा पनि डिसेम्बरमा सन् २०२२ को जुन २२ अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । उनीहरुका लागि भने नोभेम्बरमा भने भिसा करेन्ट रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com