टीपीएसवाहकलाई नयाँ ट्राभल डकुमेन्ट आवेदन दिन सुझाव, कस्ले कसरी दिने?


प्रकाशित मिति : कार्तिक २५, २०७९ शुक्रबार

Keshab Raj Seadie

नेपाल लगायतको टीपीएसको अवधि सन् २०२४ को जुन ३० सम्मका लागि स्वत थप गरिने भएको छ । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानको टीपीएसको अवधि पनि १८ महिना थप गरिने भएको हो ।

युएससीआईएसले यसबारे नोभेम्बर १६ बुधबार फेडरल रजिष्टरमा औपचारिक रुपमा सुचना प्रकाशित गर्ने भएको छ । योसँगै कानुन व्यवसायीले टीपीएसवाहकलाई नयाँ ट्राभल डकुमेन्ट आवेदन दिन सुझाव दिएका छन् ।

जुलाई १ देखि लागु हुनेगरी युएससीआईएसले टीपीएसवाहकलाई अमेरिकाबाहिर यात्रा गरेर फर्कनका लागि एड्भान्स परोलको साटो नयाँ यात्रा अनुमतिपत्र आई ५१२ टी जारी गर्न सुरु गरेको हो । विगतमा गैरकानूनी उपस्थीति (ओभरस्टे) भएका र विनाभिसा अमेरिकाको सिमाक्षेत्रबाट आएका टीपीएसवाहकलाई तत्काल यात्रा गर्नुपर्ने अवस्था नभएपनि नयाँ ट्राभल डकुमेन्टका लागि आवेदन दिन कानून व्यवसायी केशव सेडाईले सुझाव दिनुभएको छ ।

उहाँले नयाँ ट्राभल डकुमेन्टमा यात्रा गरेर आएपछि विगतमा विना भिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका आएकाहरुलाई पनि भिसा लिएर आएको व्यक्ति सरह नीरिक्षण गरिएको र अमेरिकामा प्रवेश अनुमति दिइएको मान्यता दिइने भएकाले विना भिसा आएका टीपीएसवाहकलाई नयाँ ट्राभल डकुमेन्टका लागि आवेदन दिन विशेष सुझाव दिनुभएको छ । नयाँ ट्राभल डकुमेन्टमा यात्रा गरेर फर्केपछि उनीहरुले अमेरिकामा परिवार वा रोजगारमा आधारमा समेत ग्रिनकार्ड आवेदन दिनसक्ने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब युएससीआईएसले टीपीएसवाहकका लागि नयाँ प्रकारको ट्राभल डकुमेन्ट जारी गर्न सुरु गरेपनि विगतको एड्भान्स परोल डकुमेन्ट लिएर यात्रा गरेकाहरुका सन्दर्भमा पनि नयाँ यात्रा अनुमतिपत्रका लागि आवेदन दिन सेडाईले सुझाव दिनुभएको छ । कुनै टीपीएसवाहकले स्थिति समायोजनको लागि आवेदन दिएको खण्डमा वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएको खण्डमा युएससीआईएसले आवेदकको विगतमा एड्भान्स परोलसहितको यात्रालाई मान्यता दिने वा नदिनेबारे विचार गर्ने जनाएकाले नयाँ आवेदन दिन सुझाव दिइएको हो ।

विगतमा टीपीएसबाट एड्भान्स परोल लिएर यात्रा गनरेकाहरुका सन्दर्भमा युएससीआईएसले आवेदन अनुशार, पूर्व नीति र कानूनको विचार गरेर यसबारे निर्णय लिने बताएको छ । त्यसैले कुनै बाधा आउन नदिनका लागि सकभर नयाँ यात्रा अनुमतिपत्रका लागि आवेदन दिन कानून व्यवसायीको सुझाव छ । यद्यपी यात्राको मात्र प्रयोजनका लागि भने म्याद नसकिएको एड्भान्स परोल डकुमेन्टमा आगामी दिनमा समेत अमेरिकाबाहिर गएर आउन सकिनेछ ।

नयाँ ट्राभल डकुमेन्टका लागि कसरी आवेदन दिने ?

टीपीएसवाहकले नयाँ ट्राभल डकुमेन्टका लागि पनि फर्म आई १३१ भरेर नै आवेदन दिनुपर्छ । युएससीआईएसले फर्ममा कुनै अपडेट गरेको छैन । फर्म आई १३१ भरेर नै नयाँ प्रकारको ट्राभल डकुमेन्ट प्राप्त गर्न सकिन्छ ।

टीपीएसमार्फत एड्भान्स परोलका लागि अनुरोध गर्दै फर्म आई १३१ भरेर आवेदन दिएका तर आवेदन पेन्डिंग रहेकाहरुले पनि कुनै कदम चाल्नुपर्दैन । युएससीआईएसले उनीहरुलाई स्वत एड्भान्स परोलको साटो टीपीएसको नयाँ ट्राभल डकुमेन्ट उपलब्ध गराउनेछ ।

ट्राभल डकुमेन्टका लागि आवेदन दिन यहाँ क्लीक गर्नुहोला ।

बाइडेन प्रशासनले यो नीति आप्रवासीहरुका लागि राम्रो आशयका साथ ल्याएकाले विगतमा भिसामार्फत नै अमेरिका आएका तर टीपीएसमा जानु अगाडि गैरकानूनी उपस्थीति भएकाहले समेत यो नयाँ प्रकारको ट्राभल डकुमेन्ट लिएर यात्रा गरेको खण्डमा भविश्यमा ग्रिनकार्ड आवेदन दिंदा फाइदा हुनसक्ने कानून व्यवसायी केशव सेडाईको भनाई छ । यो ट्राभल डकुमेन्टमा यात्रा गरेर आएपछि पूर्व स्वीकृतिका रुपमा नभई भिसा सरह प्रवेशको मान्यता दिइने भएकाले विगतमा गैरकानूनी उपस्थीति भएकाहलाई पनि नयाँ ट्राभल डकुमेन्टमा यात्रा गरेर आएपछि युएससीआईएसले सकारात्मक रुपमा हेर्ने अपेक्षा गरिएको छ ।

विगतमा के थियो ? अहिलेको परिवर्तन के हो ?

अमेरिकाका सर्किट कोर्टहरुमा टीपीएस स्वीकृतिलाई अमेरिकामा भिसा सरह प्रवेश गरेको मान्यता दिने नदिने विषयमा विभाजन देखिएको थियो । कतिपय सर्किट कोर्टहरुले टीपीएस प्राप्त गरेकाहरुले विगतमा गैरकानूनी रुपमा प्रवेश गरेको भएतापनि अमेरिकामा अध्यागमन स्थीति समायोजन गर्न पाउने राय दिएका थिए भने कतिपयले नपाउने राय दिएका थिए । तर गत बर्ष अर्थात् सन् २०२१ को जुन ७ मा अमेरिकाको सर्वोच्च अदालतले टीपीएस स्वीकृति भएको व्यक्ति विगतमा विना भिसा प्रवेश गरेको भएमा अध्यागमन स्थीति समायोजन गर्न नपाउने फैसला गरेर उक्त विवादलाई टुंग्याएको थियो ।

यद्यपी अदालतले एड्भान्स परोलमा अमेरिकाबाहिर गएर फर्केका टीपीएसवाहकका सन्दर्भमा भिसामा प्रवेश गरे सरह अध्यागमन स्थीति समायोजन गर्न पाउने वा नपाउने भन्नेबारे केही बोलेको थिएन । अध्यागमन कानूनमा एउटा व्यवस्थामा टीपीएसलाई वैध स्टाटसका रुपमा मान्ने उल्लेख भएपनि अर्को व्यवस्थामा ग्रिनकार्डका लागि आवेदन दिनका लागि टीपीएस वाहक कानूनी रुपमा अमेरिका प्रवेश गरेको हुनुपर्ने व्यवस्था रहेको छ । तर यी व्यवस्थाहरुले गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका टीपीएसवाहकलाई ग्रिनकार्ड प्राप्त गर्न योग्य ठहर नगर्ने अदालतले ठहर गरेको थियो ।

यी समग्र स्थीतिको मूल्यांकन गरेर अहिले युएससीआईएसले यसबारे थप प्रष्ट पार्दै नयाँ नीति ल्याएको छ । जस अनुशार गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका टीपीएसवाहक ग्रिनकार्ड प्राप्त गर्न योग्य ठहर नभएतापनि उनीहरु एड्भान्स परोल लिएर वा नयाँ यात्रा अनुमतिपत्र लिएर अमेरिकाबाहिर गएर आएको खण्डमा भने ग्रिनकार्ड प्राप्त गर्न योग्य हुनसक्नेछन् । जुलाई १ देखि लागु गरिएको यो नियमले खासगरी अमेरिकामा विना भिसा प्रवेश गरेका टीपीएसवाहकहरुलाई फाइदा पुग्नेछ । अर्थात् उनीहरुले यात्रा अनुमतिपत्र लिएर अमेरिकाबाहिर गएर आएपछि आफ्नो अध्यागमन स्थीति समायोजन गर्न सक्नेछन् । यद्यपी उनीहरुले अध्यागमन कानून अनुशार अन्य योग्यताहरु भने पूरा गरेको हुनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com