अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप


प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् ।

रोजगारदाताहरुले थप ६५ हजार एच टु बी भिसाका लागि आवेदन दिन सक्नेछन् । अक्टोबर १, २०२२ मा सुरु भएको आर्थिक वर्षको सुरुमा यी थप भिसाहरू उपलब्ध गराएर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले थप अस्थायी कामदारहरूको लागि रोजगारदाताहरूको आवश्यकतालाई सम्बोधन गर्न द्रुत रूपमा कार्य गरिरहेको जनाएको छ ।

थप गरिएकामध्ये २० हजारभिसा हाइटी र मध्य अमेरिकी देश होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरका कामदारहरूका लागि छुट्याइएको छ । अरु ४४ हजार ७ सय १६ भिसा विगतमा ३ बर्षमध्ये कुनै आर्थिक बर्षमा यस्तो भिसा लिएका वा स्वीकृत भएका र अहिले काममा पुन फर्कनेहरुका लागि उपलब्ध हुनेछन् ।

रोजगारदाताहरुले पहिले नै अमेरिकामा एच टु बी भिसामा रहेकाहरुलाई नयाँ आवेदन स्वीकृत हुँदासम्म प्रतिक्षा नगरी तुरुन्तै काममा लगाउन सक्नेछन् ।

रोजगार दाताले अस्थायी गैर कृषि कामदार भिसामा कसैलाई राख्नका लागि उनीहरुको व्यवसायमा अतिरिक्त एच टु बी कामदारहरु नराखेको खण्डमा नोक्सान पुग्ने देखाउनुपर्नेछ ।

यसपटक थपिएका भिसाहरु आर्थिक बर्ष २०२३ का लागिमात्र लागु हुनेछन् भने यसले आगामी आर्थिक बर्षका भिसाहरुमा कटौती वा नकारात्मक असर गर्नेछैन ।

यो भिसामा कामदार ल्याउन चाहने रोजगारदाताहरुले तोकिएको कामका लागि अमेरिकामा कामदारहरु नपाएको, अमेरिकामा हुने कामदारहरु काम गर्न इच्छुक नभएको वा योग्य नभएको प्रमाणित गर्नुपर्छ । यो भिसाका लागि रोजगारदाताले आई १२९ आवेदनका साथमा लेबर सर्टिफिकेशन समेत पेश गर्नुपर्छ । यो भिसाका लागि कामदार आफैले आवेदन दिन मिल्दैन ।

अस्थायी गैर कृषि कामदारहरु अमेरिका पठाउनका लागि ८४ देशहरु योग्य छन् ।  सुचीमा नभएका देश बाहेक अन्य देशका आवेदकका सन्दर्भमा अमेरिकाको राष्ट्रिय रुचीमा परेको खण्डमा युएससीआईएसले तजविज अधिकारका आधारमा आवेदन स्वीकृत गर्न सक्नेछ ।

नेपाल सुचीमा रहेको छैन । तर विभिन्न अवस्थाको मूल्यांकन गरेर युएससीआईएसले नेपाली आवेदकको समेत अस्थायी कृषि तथा गैर कृषि भिसा आवेदन स्वीकार गर्न सक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com