यूएईमा नयाँ भिसा नीति : ग्रिन भिसा, गोल्डेन भिसा र भिजिटर भिसाका नयाँ प्रावधान


प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार

संयुक्त अरब इमिरेट्सले गत महिना आफ्नो भिसा नीतिमा परिवर्तन घोषणा गरेकोमा उक्त परिवर्तन अक्टोबर ३ देखि लागू भएको छ।

देशको अध्यागमन नीतिमा परिर्वतन अन्तर्गत लागू भएको नयाँ भिसा नियममा पर्यटकका लागि दीर्घकालीन भिसा र पेशाकर्मीका लागि लामो समय बस्ने सुविधा उपलब्ध गराइएको छ । उद्यमी, लगानीकर्ता र व्यवसायीका लागि नयाँ दस वर्षे गोल्डेन भिसा योजना लागू भएको छ ।

यसलाई हालैका वर्षहरूमा युएईको नीतिगत निर्णयहरूमा सबैभन्दा ठूलो परिवर्तनको रूपमा हेरिएको छ। युएई सरकारले थप लगानीकर्ता, पर्यटक र व्यवसायीलाई देशमा आकर्षित गर्न नयाँ नीति ल्याएको हो ।

ग्रीन भिसा

ग्रीन भिसाको आधारमा आप्रवासीहरू पाँच वर्षसम्म त्यहाँ बस्न सक्छन्। यसलाई नवीकरण पनि गर्न सकिन्छ।

यो सेल्फ स्पोन्सर्ड भिसा हुनेछ। अर्थात् यसका लागि युएईका नागरिक, रोजगारदाताले यहाँ आउने व्यक्तिको भिसालाई स्पोन्सर गर्नुपर्दैन । स्वतन्त्र, स्वरोजगार, दक्ष कामदार, लगानीकर्ता वा तिनीहरूका पार्टनरहरु यो भिसाका लागि योग्य हुनेछन्।

ग्रीन भिसा धारकले बढी लाभ पाउनेछन्। त्यहाँ बस्दा उनीहरूले आफ्नी श्रीमती वा श्रीमान्, छोराछोरी र नजिकका नातेदारहरूलाई साथमा राख्न सक्नेछन्। अभिभावकहरूले आफ्ना छोराछोरीलाई २५ वर्षको उमेरसम्म त्यहाँ राख्न सक्नेछन्। यसअघि यो उमेर १८ वर्षसम्म थियो ।

यो उमेर सीमा अविवाहित छोरी वा अपाङ्गता भएका बालबालिकाको हकमा भने लागू हुने छैन। ग्रीन कार्ड धारकले रेसिडेन्सी अवधिको अन्त्यमा छ महिनाको ग्रेस अवधि पाउनेछन्।

गोल्डेन भिसा

गोल्डेन भिसा विदेशी उद्यमी, अनुसन्धानकर्ता, चिकित्सा व्यवसायी, विज्ञान र सम्बन्धित क्षेत्रमा काम गर्ने विज्ञहरू, उच्च प्रतिभाशाली विद्यार्थी र यूएईमा लगानी गर्ने स्नातकहरूलाई प्रदान गरिन्छ ।

युएईमा उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न गोल्डेन भिसा योजना २०२० मा लागू गरिएको थियो। गोल्डेन भिसा योजना अन्तर्गत दिइएको भिसाको अवधि १० वर्षसम्मको हुनेछ।

गोल्डेन भिसा धारकहरूले धेरै फाइदाहरू पाउनेछन्। यसमा उनको व्यवसायमा शतप्रतिशत स्वामित्व हुनेछ । यसअघि ६ महिनासम्म देशबाहिर बस्ने नागरिकको अधिकार खोसिएको थियो । तर १० वर्षे गोल्डेन भिसा योजनामा ​​यो प्रतिबन्ध हटाइएको छ । यस योजना अन्तर्गत प्रवासीहरूको घरेलु कामदारहरूको संख्याको सीमा हटाइएको छ।

नयाँ योजना अन्तर्गत गोल्डेन भिसा धारकहरूले आफ्नो जीवनसाथी र जुनसुकै उमेरका बच्चाहरूलाई प्रायोजन गर्न सक्नेछन्। गोल्डेन भिसा धारकको मृत्यु भए पनि उसको परिवारका सदस्य भिसा अवधि नपुग्दासम्म त्यहाँ बस्न सक्छन्।

गोल्डेन भिसा अन्तर्गत विज्ञान–इन्जिनियरिङ, मेडिसिन, आईटी, व्यवसाय, प्रशासन र शिक्षामा दक्ष व्यक्तिहरुलाई युएईमा बस्न अनुमति दिइनेछ ।

यसअघि यस्ता व्यवसायीले त्यहाँ बस्नका लागि हरेक महिना ५० हजार दिरहामभन्दा बढी कमाउनु परेको थियो तर अहिले ३० हजार दिरहाममा झरेको छ ।

पर्यटक र अन्यका लागि भिसा नीति

पर्यटक भिसामा युएई जाने व्यक्तिले त्यहाँ थप ६० दिन बस्न पाउनेछन् । पहिले यो अवधि ३० दिन थियो ।

यसका साथै लचिलो मल्टि एन्ट्री टुरिस्ट भिसा पनि ल्याएको छ, जसमा पर्यटकले ९० दिनसम्म त्यहाँ बस्न सक्ने र यस अवधिमा धेरै पटक आवतजावत गर्न सक्नेछन् ।

नयाँ भिसा नीतिका कारण त्यहाँ रोजगारीका लागि जाने व्यक्तिलाई स्पोन्सर वा होस्टको आवश्यकता पर्दैन । मानव संशाधन विकास मन्त्रालयले तोकेअनुसार पहिलो, दोस्रो र तेस्रो श्रेणीमा पर्ने व्यावसायिक र विश्वका ५ सय शीर्ष विश्वविद्यालयका नयाँ स्नातकहरूले रोजगार भिसाका लागि आवेदन दिन सक्नेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com