एसाइलम आवेदनको रिसिप्ट आउन ढिलो भए नआत्तिन युएससीआईएसको सुझाव


प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार

एसाइलम आवेदनको रिसिप्ट आउन नियमित भन्दा केही ढिलो भएपनि नआत्तिन युएससीआईएसले सुझाव दिएको छ । एसाइलम आवेदन आई ५८९ को रिसिप्ट पठाउन केही ढिलो भइरहेको युएससीआईएसले प्रष्ट पारेको छ ।

उक्त ढिलाई कारण आवेदकले समयमै रिसिप्ट प्राप्त नगर्नसक्ने भएपनि आवेदन प्राप्त गरेको मितिबाटै प्राथमिकता मिति गणना गरिने युएससीआईएसले जनाएको छ । अमेरिका आएको एकबर्षभित्रै एसाइलम फाइल गर्नुपर्ने प्रावधान, एसाइलम अन्तरवार्ताका लागि प्राथमिकता र पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गर्ने मितिको गणना पनि युएससीआईएसले आवेदन प्रकृयामा लगेको मितिबाट नभई प्राप्त गरेको मितिबाटै हुने युएससीआईएसले स्पष्ट पारेको छ ।

सही तरिकाले फाइल नगरिएका आवेदनका सन्दर्भमा भने त्यस्ता आवेदनहरु अस्वीकृत गरेर फाइल गर्नमा भएको कमजोरीबारे आवेदकलाई सुचित गरिने युएससीआईएसको भनाई छ । समयमा नै रिसिप्ट प्राप्त नगरेको खण्डमा अरु एसाइलम आवेदन आई ५८९ नपठाउन सुझाव दिइएको छ । यदि त्यसो गरेमा आवदेनमा ढिलाई हुने युएससीआईएसले जनाएको छ ।

आवेदन सही तरिकाले फाइल गर्नका लागि युएससीआईएसले केही सुझावहरु पनि दिएको छ । अवस्थामा परिवर्तन आएको वा कुनै असाधारण अवस्थाले गर्दा अमेरिका आएको एकबर्षभित्र आवेदन दिन नसकेको बाहेक अन्य अवस्थामा अमेरिका आएको एकबर्षभित्रै आवेदन दिन सुझाव दिइएको छ ।

त्यस्तै आवेदनमा सबै प्रश्नको जवाफ कालो मसीले लेख्न सुझाव दिइएको छ । फर्ममा आवेदक र उसको परिवारको बारेमा सोधिएका सबै जानकारीहरु उपलब्ध गराउन तथा लागु नहुने सन्दर्भमा नन, नट एप्लीकेबल वा अननोन लेख्न सुझाव दिइएको छ । आवेदनका साथमा आफ्नो एसाइलमको लिखित विवरण पठाउन तथा उक्त विवरणमा आफूले भोगेका घटना, मिति र अनुभव लगायत समावेश गर्न प्रोत्साहन गरिएको छ ।

पुरक कागजात लगायतका कागजातमा एलियन नम्बर भएको खण्डमा उक्त नम्बर, नाम, मिति र हस्ताक्षर गरेर पठाउन सुझाव दिइएको छ । एसाइलमको आवेदन भर्मोन्ट सर्भिस सेन्टरमा नपठाउन र उक्त सेन्टरले एसाइलम आवेदन प्रकृयामा नलगेकाले त्यहाँ आवेदन पठाएको खण्डमा थप ढिलाइ हुने प्रष्ट पारिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com