भारत सरकारबाट ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार


प्रकाशित मिति : असार १९, २०७९ आईतबार

भारत सरकारले ७५ एम्बुलेन्स र १७ विद्यालयका लागि बस सहयोग हस्तान्तरण गरेको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले संस्थाहरुलाई चाबी प्रदान गरे । सो एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा रहेको जनाएको छ ।

भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताए ।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे ।

सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न हितग्राही संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com