माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु,मुख्य ९ वटा एजेण्डामा छलफल हुने


प्रकाशित मिति : असार १९, २०७९ आईतबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ ।

गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो ।

महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुहुने भएको छ ।

एजेण्डाहरू

१. सहिदहरूप्रति श्रद्धाञ्जली

२. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण

३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी

४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट

५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट

६. संगठनात्मक विषय र संरचनाबारे

७. स्थानीय निर्वाचनको समीक्षा

८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे

९. विविध

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com