अमेरिकाको स्वतन्त्रता दिवसको अवशरमा ६६ सयलाई नागरिकता दिइने, १४० समारोह


प्रकाशित मिति : असार १८, २०७९ शनिबार

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को अवशरमा ६६ सय योग्य आप्रवासीलाई नागरिकता वितरण गरिने युएससीआईएसले जनाएको छ । देशभर १४० वटा नागरिकता वितरण समारोह मार्फत उनीहरुलाई अमेरिकाको नयाँ नागरिकका रुपमा स्वागत गरिने भएको छ ।

जुलाई १ देखि जुलाई ८ का बीचमा ती समारोहहरु आयोजना गरिनेछन् । आर्थिक बर्ष २०२१ मा अमेरिकाले ८ लाख ५५ हजार आप्रवासीहरुलाई नागरिकता प्रदान गरेकोमा चालु आर्थिक बर्ष २०२२ को झण्डै ९ महिना अर्थात् जुन १५ सम्म ६ लाख ६१ हजार ५ सयलाई अमेरिकी नागरिकता प्रदान गरिसकेको छ ।

गतबर्ष स्वतन्त्रता दिवसको अवशरमा अमेरिकामा ९ हजार ४ सय जनालाई नागरिकता प्रदान गरिएको थियो भने त्यसका लागि १७० वटा नागरिकता वितरण समारोहहरु आयोजना गरिएको थियो ।

अमेरिकाको २४६ औं जन्मदिनका अवशरमा अमेरिकाभर विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिदैछ । सन् १७७६ मा अमेरिकी संसदले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेको थियो भने संयुक्त राज्य अमेरिकाको घोषणा गर्दै १३ वटा अमेरिकन उपनिवेशहरुलाई बेलायती साम्राज्यबाट मुक्त गरेको थियो ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न योग्यताहरु पूरा गरेको हुनुपर्छ । सामान्यतया ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षपछि अमेरिकी नागरिकताका लागि योग्य हुनसक्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गर्नेहरु ३ बर्षमै नागरिकताका लागि योग्य हुनसक्छन् भने अमेरिकी सेनामा कार्यरतहरु तुरुन्तै योग्य हुनसक्छन् ।

विगतमा ट्रम्प प्रशासनले अमेरिकी नागरिकताको प्रश्नप्रणालीमा परिवर्तन गरेपनि बाइडेन प्रशासनले विगतकै प्रश्नप्रणाली लागु हुनेगरी ट्रम्प प्रशासनले लागु गरेको प्रश्नप्रणाली खारेज गरेको थियो । जस अनुशार सन् २००८ मा लागु भएको प्रश्नप्रणाली अनुशार नै परीक्षा दिएर अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ ।

अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५ बर्षमै दोब्बर, कुल संख्या झण्डै ६० हजार

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५ बर्षको अवधिमा नै झण्डै दोब्बर भएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए भने त्यो यताको ५ बर्षमा २७ हजार ८० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् ।

सन् २०१५ भन्दा अगाडिका ३० बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्याभन्दा २०१५ पछिका ५ बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्या धेरै रहेको छ । सन् २०२१ को तथ्यांक समेत समावेश गर्ने हो भने अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्या ६० हजार पुगिसकेको छ । जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन ।

अमेरिकी पासपोर्ट

२०१६ सम्मको तथ्यांक हेर्ने हो भने पनि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ३० हजार रहेको थियो । त्यसपछिका ५ बर्षमा यो संख्या झण्डै ६० हजार पुगेको छ ।

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१५ सम्म २५ हजार नेपालीलाई अमेरिकी नागरिकता

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com