मानव तस्करमार्फत अमेरिका आउने क्रममा टेक्सासमा ट्रकभित्र ज्यान गुमाउने आप्रवासीहरुको संख्या ५१


प्रकाशित मिति : असार १४, २०७९ मंगलबार

अमेरिकाको टेक्सास राज्यको बाहिरी इलाकामा ट्रकमा भेटिएका मृतक आप्रवासीहरुको संख्या ५१ पुगेको छ । यो घटनालाई अमेरिकी माटोमा भएको सबैभन्दा भयानक मानव तस्करीको घटना भएको विश्वास गरिएको छ ।

सुरुमा ४६ जनालाई मृत घोषणा गरिएको थियो भने ४ जना बालबालिकाहरुसहित १६ जनालाई अस्पताल लगिएको थियो । उनीहरु अत्याधिक तातोबाट प्रताडित थिए भने जलवियोजन समेत देखिएको थियो । स्थानीय अस्पतालमा थप ५ जनालाई मृत घोषणा गरिएपछि मंगलबारसम्म मृतकको संख्या बढेर ५१ पुगेको हो । मृतकमा ३९ जना पुरुष र १२ जना महिला छन् ।

१८ चक्के ट्रकमा १ सयजनाजति आप्रवासीहरु राखिएको थियो । दक्षिण पश्चिम सान एन्टोनियोमा नजिकको भवनमा काम गरिरहेका कामदारहरुले ट्रकभित्र मान्छेहरु रहेको आवाज सुनेपछि पछाडिको ढोका खोलिएको थियो । १२ बयस्क र ४ बालबालिकाहरुलाई तुरुन्तै अस्पताल लगिएको थियो ।

ट्रकमा चिसो बनाउने प्रणाली रहेपनि त्यसले काम नगरेको जनाइएको छ । घटनासँग सम्बन्धित भएको अभियोगमा तीनजनालाई हिराशतमा लिइएको छ । तर त्यसमा चालकपनि भए नभएको भने केही खुलाइएको छैन ।

मृतकमध्ये २२ जना मेक्सिकनहरु रहेको त्यहाँका राष्ट्रपतिले पुष्टी गरेका छन् । ७ जना ग्वाटेमालाका र २ जना होण्डुरसका नागरिक रहेको जनाइएको छ । १७ जना व्यक्ति कहाँका हुन् भन्नेबारे अहिलेसम्म पहिचान खुलेको छैन । मानव तस्करहरुमार्फत मेक्सिकोको बाटो हुँदै नेपालीहरुसमेत उल्लेख्य संख्यामा अमेरिका छिर्ने भएतापनि ट्रकमा नेपालीहरु भए नभएको केही खुलेको छैन ।

सन् २०१७ को जुलाईमा पनि टेक्सासको सान एन्टोनियोमा ट्रकमा १० जना आप्रवासीहरु मृत भेटिएका थिए । त्यस्तै सन् २००३ मा टेक्सासमा १८ जना आप्रवासीहरु ट्रकमा मृत भेटिएका थिए । चालकलाई सुरुमा आजिवन जेलसजाय सुनाइएपनि पछि ३४ बर्षको जेल सजाय सुनाइएको थियो । त्यस्तै सन् २०२१ को मार्चमा क्यालिफोर्नियामा १३ कागजपत्रविहिन आप्रवासीको शव भेटिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com