Follow @khasokhasmag

ग्रिनकार्ड आवेदकलाई युएससीआईएसले सुचित गर्ने बित्तिकै रातारात मेडिकल रिपोर्ट पठाउन सुझाव


प्रकाशित मिति : असार १४, २०७९ मंगलबार

अमेरिकी सरकारको अध्यागमन एजेन्सी युएससीआईएसले भिसा संख्या खेर जान नदिन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई यथाशीघ्र मेडिकल रिपोर्ट पठाउन सुझाव दिएको छ । मेडिकल रिपोर्ट मागिएका आवेदकलाई यस्तो रिपोर्ट रातारात वा प्राथमिक सेवामार्फत पठाउन सुझाव दिइएको हो ।

आर्थिक बर्षका लागि रोजगारमा आधारित भिसा संख्या खेर जान नदिन रोजगारमा आधारित ग्रिनकार्ड प्रकृया तीब्र पारिरहेको युएससीआईएसको भनाई छ । आगामी सेप्टेम्बर ३० मा सकिने चालु आर्थिक बर्ष २०२२ का लागि उपलब्ध धेरैभन्दा धेरै भिसाहरु प्रयोग गर्ने सुनिश्चित गर्न चाहेको युएससीआईएसले जनाएको छ ।

अमेरिकाबाहिर रहेका आवेदकका सन्दर्भमा विदेश मन्त्रालयसँग काम गरिरहेको युएससीआईएसले जनाएको छ । अमेरिकाभित्रै हुने र रोजगारमा आधारित ग्रिनकार्डका लागि योग्यहरुलाई मेडिकल रिपोर्टबारे युएससीआईएसले ४ वटा सुझाव दिएको छ । ग्रिनकार्ड आवेदन दिनेहरुलाई अद्यावधिक मेडिकल रिपोर्टसहित पठाउन, ग्रिनकार्ड आवेदन पेन्डिंग अवस्थामा रहेकाहरुले युएससीआईएसले नमागेसम्म मेडिकल रिपोर्ट नपठाउन, अनुरोध प्राप्त हुनासाथ तुरुन्तै मेडिकल रिपोर्ट पठाउन युएससीआईएसले सुझाव दिएको छ । मेडिकल रिपोर्ट सजर्नले हस्ताक्षर गरेको २ बर्षसम्म अद्यावधिक रहने जनाइएको छ ।

आफूहरुले उपयुक्त मेडिकल रिपोर्ट नभएका तर भिसा उपलब्ध भएका रोवजगारमा आधारित ग्रिनकार्ड आवेदनको पहिचान सकृय रुपमा गरिरहेको र उनीहरुलाई मेडिकल रिपोर्ट पठाउन सिधा सम्पर्क गर्ने युएससीआईएसले स्पष्ट पारेको छ । यदि आवेदकलाई आफ्नो ग्रिनकार्ड आवेदनसँगै उपयुक्त मेडिकल रिपोर्ट समावेश नभएको थाहा छ भने उनीहरुले भिसा उपलब्ध हुने बित्तिकै र आई १४० आवेदन स्वीकृत हुने बित्तिकै मेडिकल रिपोर्ट तयारी अवस्थामा राख्न तथा युएससीआईएसको अनुरोध आउने बित्तिकै पठाउन सुझाव दिइएको छ ।

गतबर्षको अक्टोबर १ देखि ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने नियम लागु भइसकेको छ । युएससीआईएसले मेडिकल रिपोर्ट फर्म आई ६९९ मा पनि अपडेट गरेको छ । आवेदकले मेडिकल परीक्षण अगाडि भ्याक्सिन अनुशार एउटा वा दुईवटा डोज पूरा गरेको हुनुपर्ने र त्यसको कागजात सिभिल सर्जनलाई उपलब्ध गराउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

यो प्रावधान अमेरिकामा ग्रिनकार्ड आवेदन दिने र अमेरिकाबाहिर दूतावास तथा कन्सुलेटहरुमा आप्रवासी भिसाको आवेदन दिने सबैका सन्दर्भमा लागु गरिएको छ । तर भ्याक्सिन लगाउनका लागि उमेरले योग्य भएकाहरु र कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न स्वास्थ्यका हिसाबले पनि उपयुक्त रहेकाहरुका सन्दर्भमामात्र यो नियम लागु गरिएको छ ।

अमेरिकाको अध्यागमन कानूनको १२१ ए १ अनुशार स्वास्थ्यबारेको प्रवेश निषेध आधारसँग समन्धित रहेर अध्यागमन मेडिकल जाँच हुने गरेको छ । अमेरिकी सरकारकाबाट आपतकालिन प्रयोगको अनुमति पाएका वा विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भ्याक्सिनहरु लगाएको प्रमाण मेडिकल रिपोर्टमा पेश गर्नुपर्छ । विना प्रमाण स्वघोषित भ्याक्सिन लगाएको बताउँदैमा त्यसलाई मान्यता दिइदैन ।

यदि आवेदकले पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने मेडिकल रिपोर्ट तयार गर्ने सिभिल सर्जन वा चिकित्सकलाई आवेदकको सहमतिमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउने अधिकार समेत दिइएको छ । यद्यपी मेडिकल परीक्षण अगाडि नै आवेदकले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाउनुपर्ने र भ्याक्सिन नलगाइकनै मेडिकल परीक्षणमा जानेको आवेदन प्रकृयामा ढिलाई हुने चेतावनी दिइएको छ ।

 

यदि आवेदक भ्याक्सिन लगाउन स्वीकृत गरिएभन्दा कम उमेरको भएको खण्डमा स्वत भ्याक्सिन नलगाए हुने छुट प्रदान गरिनेछ । तर यदि कोही व्यक्तिले धार्मिक वा नैतिक आधारमा भ्याक्सिन नलगाउने भएमा त्यस्ता आवेदकले युएससीआईएस समक्ष छुटका लागि आवेदन दिनुपर्नेछ । उक्त छुटका लागि गरिएको आग्रह स्वीकार गर्ने वा नगर्ने अधिकार युएससीआईएसमा रहनेछ ।

ग्रिनकार्डका लागि मेडिकल रिपोर्ट पेश गर्दा कोरोनाबिरुद्धको प्रतिरोधात्मक क्षमताको भने परीक्षण गर्नुनपर्ने सीडीसीको सुझाव रहेको छ । प्रतिरोधात्मक क्षमताको प्रमाण भएपनि वा विगतमा कोरोना संक्रमण भएको भएतापनि आवेदकले भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्छ ।

सामान्यतया मेडिकल रिपोर्टको म्याद २ बर्ष हुने गर्छ र दुईबर्षभित्र पनि युएससीआईएस आवेदनबारे निर्णय दिन नसकेको खण्डमा आवेदकले नयाँ मेडिकल रिपोर्ट बुझाउनुपर्छ ।

अमेरिकामा आप्रवासी भिसा वा ग्रिनकार्ड आवेदन दिंदा स्वास्थ्य परीक्षण र भ्याक्सिनको रेकर्ड उल्लेख भएको मेडिकल रिपोर्ट आई ६९३ पेश गर्न आवश्यक हुन्छ । सामान्यतया स्वास्थ्यको आधारमा अमेरिकाको आप्रवासी सुविधाका लागि आवेदक अयोग्य नरहेको प्रमाणका रुपमा मेडिकल रिपोर्ट पेश गरिन्छ । यो रिपोर्ट सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ बर्षसम्म मान्य हुने प्रावधान अहिलेसम्म रहेको छ । तर आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्दाको मितिले ६० दिन भित्रैको रिपोर्टमात्र मान्य हुन्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com