काठमाडौंमा अमेरिकाको भिजिटर भिसा अप्वाइन्टमेन्ट लिन २७४ दिन, अन्य ठाउँमा कति ?


प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार

कोरोना महामारीपछि अमेरिकी दूतावासहरुले नियमित भिसाहरु सुचारु गरेपनि अप्वाइन्टमेन्ट पाउन भने निकै मुस्किल हुने गरेको छ । भिसा अप्वाइन्टमेन्ट पाउन कतिपय स्थानमा एकबर्षभन्दा पनि लामो समय लाग्ने गरेको छ ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिजिटर भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा २७४ दिन लाग्ने गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यो सप्ताहन्त र विदा सहितका दिन गणना गरेर निकालिएको औषत अवधि हो ।

काठमाडौंबाट विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा ८० दिन लाग्ने गरेको छ । विद्यार्थी र भिजिटर भिसाबाहेक अन्य गैर आप्रवासी भिसाको अन्तरवार्ता पाउन भने औषतमा १७ दिनमात्र लाग्ने गरेको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको विवरणमा जनाइएको छ ।

अमेरिकी दूतावास दिल्लीमा भने भिजिटर भिसाको अन्तरवार्ता अप्वाइन्ट पाउन अझ मुस्किल रहेको छ । दिल्लीमा भिजिटर भिसाको अप्वाइन्ट पाउन औषतमा ४६० दिन लाग्ने गरेको छ । तर विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन भने औषतमा ५५ दिन र अन्य गैर आप्रवासी भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा २४४ दिन लाग्ने गरेको छ । मुम्बईमा भिजिटर भिसाका लागि २१० दिन र विद्यार्थी लगायतका अन्य गैर आप्रवासी भिसाका लागि ३१ दिन लाग्ने गरेको छ ।

दोहाबाट भिजिटर भिसाको अन्तरवार्ता अप्वाइन्ट पाउन १९६ दिन लागेपनि विद्यार्थी लगायतका अन्य भिसाको अन्तरवार्ता ३ दिनमा पाउन सकिन्छ । त्यस्तै सिंगापुरबाट भिजिटर भिसाको अन्तरवार्ता पाउन ७३ दिन र विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन २ दिन लाग्ने गरेको छ । अन्य आप्रवासी भिसाको अप्वाइन्टमेन्टका लागि औषतमा १६ दिन कुर्नुपर्छ ।

यदि तपाई लण्डनमा अमेरिकी भिसाको लागि आवेदन दिदै हुनुहुन्छ भने भिजिटर भिसाका लागि २०३ दिन, विद्यार्थी भिसाका लागि ५९ दिन, अन्य गैर आप्रवासी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन १ सय दिन लाग्नसक्छ । त्यस्तै सिड्नीबाट भिजिटर भिसाका लागि ३९० दिन लाग्ने गरेको छ तर पर्थबाट भने ९९ दिनमा हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com